काठमाडौँ- चलचित्र विकास बोर्डमा ३ दिने ‘भ्वाइस एक्टिङ एन्ड डबिङ’ तालिम सुरु भएको छ। तालिम भारतीय भ्वाइस आर्टिस्ट अमित डिओन्डीकाे प्रशिक्षणमा सुरू भएकाे हाे।
तालिममा नेपाली फिल्म क्षेत्रका १ सय ६६ जना कलाकार तथा प्राविधिक सहभागि रहेको बोर्डले जनाएको छ। बोर्डका अनुसार तालिममा भ्वाइस एक्टिङ, डबिङ प्रविधि, पात्रअनुसार आवाज प्रयोग, संवाद अभिव्यक्ति तथा स्टुडियो डबिङ प्रक्रियासम्बन्धी प्रयोगात्मक तथा सैद्धान्तिक प्रशिक्षण दिइनेछ।

चलचित्र क्षेत्रको प्राविधिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले तालिम गरिरहेकाे बोर्डका अध्यक्ष दिनेश डिसीले बताए। अध्यक्ष डिसीले याेसँगै विभिन्न १४ वटा विषयमा तालिम राखिएको जानकारी दिए। जसमा भ्वाइस एक्टिङलाई विशेष प्राथमिकता दिएको उनको भनाई थियो।
‘हामीले बोर्डबाट दक्षता अभिवृद्धि भनेर बजेट छुट्टाएरै काम गरिरहेका छौं। यसअघि पनि धेरै तालिम भइसकेका छन्।’ अध्यक्ष डिसीले भने, ‘भ्वाइस एक्टिङको विषय पनि नेपालमा आवश्यक भएकाले हामीले भारतका साउन्ड आर्टिस्ट अमित डिओंडीलाई निमन्त्रणा गरेका हौँ।’
आर्टिस्ट अमितले आफू पहिलोपटक नेपाल आएको उनले बताए। भ्वाइस आर्टिस्ट अमितले नेपालमा पनि भ्वाइस डबिङको काम गर्नसक्ने धेरै अवसरहरू रहेको उल्लेख गरे। उनले भने, ‘अहिलेको दुनियामा विश्वभरका कन्टेन्ट सजिलै हेर्न सकिन्छ। त्यसका लागि भाषाको माध्यमले ठूलो भूमिका खेल्छ। नेपाली भाषामा भ्वाइस डबिङको काम गर्न सक्ने धेरै अवसरहरू छन्। यो तीनदिन मेरो अनुभव र मैले जानेका कुरा सिकाउने प्रयास गर्नेछु।’
अमितले अमेजन, नेटफिल्क्स तथा चर्चित प्लेटफर्ममा ३ हजार भन्दाबढी सिरिज तथा फिल्ममा भ्वाइस डबिङ तथा लेखनको काम गरिसकेका छन्। साथै चर्चित कार्टुन सिरिज मोटु पात्लुको ‘मिक्की अनलाइन’ क्यारेक्टर अमितले नै आवाज दिँदै आएका छन्।
भ्वाइस एक्टिङ तथा डबिङ ट्रेनिङको व्यवस्थापन सम्राट फिल्मस्ले गरेको छ। अध्यक्ष डिसीका अनुसार यही महिनामा बोर्डले ड्रोन ट्रेनिङ, फिल्म लाइट ग्याफर तालिम, मेकअप तालिम, एआई वर्कसप, फोटो तथा भिडियो पत्रकार प्रशिक्षण तालिम तथा पौडी तालिम दिँदैछ।





