स्वामी रमणानन्द गिरि
काठमाडौँ- पशुपतिनाथको प्रचारप्रसार गरी आध्यात्मिक पर्यटनको विस्तार गर्ने उद्देश्यले काठमाडौँमा बृहत् पाशुपत पदयात्रा हुने भएको छ। महेश सन्न्यास आश्रमका पीठाधीश एवं महेश संस्कृत गुरुकुलका अध्यक्ष स्वामी रमणानन्द गिरिको संकल्पमा उक्त पदयात्रा हुन लागेको हो। शनिबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा चैत १५ गतेदेखि ४० दिने राष्ट्रव्यापी बृहत् पाशुपत परिक्रमा (६४ सिद्धस्थल पैदलयात्रा) आयोजना गरिने जानकारी दिइयो।
चैत १५ गते पशुपति शंकराचार्यमठमा समुद्घाटन, पशुपतिपूजन तथा बागमती गंगाको विशेष आरती गर्ने र १६ गते पशुपति क्षेत्रबाट पदयात्राको शुभारम्भ हुने महेश संन्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरीले जानकारी दिए। गिरिले पशुपतिनाथ, पाशुपतक्षेत्र तथा बागमती नदीको विशिष्टता समस्त सनातनी तथा नेपालीलाई जागृत गराउने पदयात्राको मुख्य उद्देश्य रहेको बताए।
उनका अनुसार बागमती नदी प्रदूषित भएकामा भगवान् पशुपतिनाथ एवं बागमतीप्रति क्षमायाचना तथा प्रायश्चित गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गर्न लागिएको हो।
सो अवसरमा नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले यो यात्रालाई पूर्णता दिनु सबैको दायित्व भएको बताए। उनले देशमा रहेको राजनीतिक विकृति अन्त्यका लागि सन्तहरूले निरन्तर खबरदारी गरिरहे पनि राज्यले सुनुवाइ नगरेको गुनासो गरे। यस्ता कार्यक्रमले राज्यको कल्याण हुने भएकाले आफूहरू पनि त्यसमा सहभागी हुने उनको भनाइ छ।
पदयात्राका संयोजक पण्डित कपिलदेव सुवेदीले ६४ शिवलिङ्गको यस किसिमको यात्रा प्रताप मल्लपछि अहिले गर्न लागिएको जानकारी दिए। पदयात्रा समितिका सचिव श्यामकृष्ण सुवेदीका अनुसार पदयात्राका क्रममा काठमाडौँ वरपरका १० जिल्लाबाट तीनपटक पशुपतिनाथको परिक्रमा हुनेछ।
चैत १६ गते पशुपति क्षेत्रबाट आदिलिंग कुशेश्वरतर्फ यात्रा गरिनेछ। पाशुपत पदयात्राको शुभारम्भ आदिलिंग कुशेश्वर महादेवको दर्शनबाट हुनेछ। कुशेश्वरबाट दोलखा भीमसेनको दर्शन गरेर फर्किएपछि सिन्धुली, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोकलगायत क्षेत्रमा रहेका सिद्धलिंगको दर्शनका लागि पनि पैदल यात्रा गरिने योजना छ।
बृहत् पाशुपत पदयात्रामा नेपाल, भारत र बर्माका साधुसन्त, धर्माचार्य तथा श्रद्धालुहरुको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ।
आयोजकले ऐतिहासिक यात्रामा देशभरका श्रद्धालु, साधुसन्त र स्थानीय जनसमुदायलाई आआफ्नो स्थानबाट सहयोग र सहभागिता जनाउन आह्वान गरेको छ। आफ्नो अनुकूलता र क्षमताअनुसार यस पदयात्रामा पूर्ण वा अर्ध समयका लागि अथवा कुनै पायक पर्ने तीर्थस्थलसम्म सहभागी भई यस आध्यात्मिक अभियानलाई सार्थक बनाउन आयोजकले आग्रह गरेको छ।
साथै आयोजकले पदयात्रा आफ्ना क्षेत्रमा आइपुग्दा पदयात्री, साधु-महात्मा तथा भक्तजनहरूको स्वागतसत्कार एवं बसोबास व्यवस्थापनमा सक्रिय सहयोग पुर्याउन स्थानीय संघसंस्था र सर्वसाधारणमा अपिल गरेको छ। ‘यस धार्मिक महोत्सवलाई सफल पार्न काय, वाचा, मन र गच्छेअनुसारको दानले सहयोग गर्दै पशुपतितत्त्व र पाशुपत सभ्यताको जगेर्ना गर्न युवा वर्गको ऊर्जाशील सहभागिताका लागि विशेष आग्रह गर्दछौँ’, आयोजकले भनेको छ। परिक्रमाका क्रममा १० जिल्लामा अवस्थित महादेवका सिद्धस्थल तथा ६४ ज्योतिर्लिंगको दर्शन तथा खोजअनुसन्धान गरिनेछ।
आयोजकका अनुसार कम्तीमा ३५-४० दिनमा बागमती प्रदेशका १० जिल्लामा रहेका सिद्धलिंगको तीर्थयात्रा सम्पन्न हुने अनुमान छ।
यसअघि गत जेठ-असारमा रमणानन्द गिरिकै संकल्पमा गण्डकी परिक्रमा गरिएको थियो। त्यस क्रममा तनहुँको देवघाटबाट कालीगण्डकीको तीरैतीर सयौँ साधुसन्त र श्रद्धालुहरू मुस्ताङको दामोदरकुण्डसम्म पैदलयात्रा गरेका थिए।
कालीगण्डकी नदीको अस्तित्व जोगाउने उद्देश्यले देवघाटदेखि कालीगण्डकीको शिर दामोदरकुण्डसम्म पदयात्रा गरिएको थियो। ‘प्रकृति, संस्कृति र सभ्यताको आराधना, कालीगण्डकी पदयात्रा एक आध्यात्मिक साधना’ भन्ने मुख्य संकल्प र आदर्शमा सञ्चालित पदयात्रामा जेठ २२ गते देवघाटबाट आरम्भ भएको पैदल यात्रा चार सातापछि दामोदरकुण्डमा पुगेर सम्पन्न भएको थियो।
यी हुन् ६४ सिद्धलिंग
१. कुशेश्वर महादेव, दुम्जा, सिन्धुली
२. भीमेश्वर महादेव, दोलखा
३. काफीश्वर महादेव, बाह्रबिसे, सिन्धुपाल्चोक
४. कश्यपेश्वर महादेव, मण्डन, काभ्रेपलाञ्चोक
५. स्फटिकेश्वर महादेव, फटकशिला, सिन्धुपाल्चोक
६. चण्डेश्वर महादेव, बनेपा, काभ्रेपलाञ्चोक
७. धनेश्वर महादेव, बनेपा, काभ्रेपलाञ्चोक
८. विकटेश्वर महादेव, साँगा, काभ्रेपलाञ्चोक
९. इन्द्रेश्वर महादेव, पनौती, काभ्रेपलाञ्चोक
१०. भालेश्वर महादेव, रोसी, काभ्रेपलाञ्चोक
११. गुप्तेश्वर महादेव, भारदेउ, ललितपुर
१२. तिलेश्वर महादेव, लेले, ललितपुर
१३. चम्पकेश्वर महादेव, लेले, ललितपुर
१४. रामेश्वर महादेव, टीकाभैरव, ललितपुर
१५. कालेश्वर महादेव, गोटीखेल, ललितपुर
१६. नटारम्भेश्वर महादेव, ठिङ्गन, मकवानपुर
१७. उद्दालकेश्वर महादेव, छैमले, काठमाडौँ
१८. गोपालेश्वर महादेव, फर्पिङ, काठमाडौँ
१९. चम्पेश्वर महादेव, विसखेल, मकवानपुर
२०. उन्मत्तेश्वर महादेव, टिस्टुङ, मकवानपुर
२१. नन्दिकेश्वर महादेव, टिस्टुङ, मकवानपुर
२२. गोखुरेश्वर महादेव, कुन्छाल, मकवानपुर
२३. पाण्डुकेश्वर महादेव, पालुङ, मकवानपुर
२४. कूटेश्वर महादेव, महादेवखर्क, मकवानपुर
२५. असितेश्वर महादेव, अम्लेश्वर, धादिङ
२६. भैरवेश्वर महादेव, देवीघाट, नुवाकोट
२७. ब्रह्मेश्वर महादेव, कविलास, नुवाकोट
२८. कार्तिकेश्वर महादेव, कविलास, नुवाकोट
२९. शतरुद्रेश्वर महादेव, शिवपुरी, काठमाडौँ
३०. काकेश्वर महादेव, गागलफेदी, काठमाडौँ
३१. मणिचूडेश्वर महादेव, मणिचूड पर्वत, काठमाडौँ
३२. योगेश्वर महादेव, बज्रयोगिनी, काठमाडौँ
३३. नारायणेश्वर महादेव, लप्सीफेदी, काठमाडौँ
३४. ज्योतिर्लिङ्गेश्वर, साँखु, काठमाडौँ
३५. रत्नचूडेश्वर महादेव, नगरकोट, भक्तपुर
३६. वागीश्वर महादेव, वागीश्वर, भक्तपुर
३७. कीलेश्वर महादेव, चाँगुनारायण, भक्तपुर
३८. वाल्मीकेश्वर महादेव, भक्तपुर
३९. मङ्गलेश्वर महादेव, उलाछें, भक्तपुर
४०. विमलेश्वर महादेव सिपाडोल, भक्तपुर
४१. अनन्तलिङ्गेश्वर महादेव, भक्तपुर
४२. विश्वरूपेश्वर महादेव, भक्तपुर
४३. सोमेश्वर महादेव, गुण्डुखोला, भक्तपुर
४४. गोभराटेश्वर महादेव, लुभु, ललितपुर
४५. भृङ्गेश्वर महादेव, सुनाकोठी ललितपुर
४६. त्रिलिङ्गेश्वर महादेव, पाटन, ललितपुर
४७. कुपितेश्वर महादेव, पाटन, ललितपुर
४८. सर्वेश्वर महादेव, पाटन, ललितपुर
४९. गोलोकेश्वर महादेव, नैकाप, काठमाडौँ
५०. चन्दनभराटेश्वर महादेव, थानकोट, काठमाडौँ
५१. यक्षेश्वर महादेव, सीतापाइला, काठमाडौँ
५२. चण्डिकेश्वर महादेव, टोखा, काठमाडौँ
५३. धर्मेश्वर महादेव, टोखा, काठमाडौँ
५४. गोकर्णेश्वर महादेव, गोकर्ण, काठमाडौँ
५५. कोटीश्वर महादेव, कोटेश्वर, काठमाडौँ
५६. वाणेश्वर महादेव, बानेश्वर, काठमाडौँ
५७. ज्ञानेश्वर महादेव, ज्ञानेश्वर, काठमाडौँ
५८. पर्वतेश्वर महादेव, पशुपति, काठमाडौँ
५९. जलेश्वर महादेव, पशुपति, काठमाडौँ
६०. गुह्येश्वर महादेव, गुह्येश्वरी, काठमाडौँ
६१. किरातेश्वर महादेव, मृगस्थली, काठमाडौँ
६२. भस्मेश्वर महादेव, पशुपति, काठमाडौँ
६३. भुवनेश्वर महादेव, पशुपति, काठमाडौँ
६४. रुद्रागारेश्वर महादेव, पशुपति, काठमाडौँ





