काठमाडौँ- गैरआवासीय नेपाली संघले शनिबारबाट काठमाडौँमा सुरु हुने १२ औँ विश्व सम्मेलन एवम् एकता महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघले फागुन ३० देखि चैत्र २ गतेसम्म आयोजना गरिएको विश्व सम्मेलन एवम् एकता महाधिवेशनलाई ऐतिहासिक र भव्य रूपमा सम्पन्न गर्न सबै तयारी पूरा भइसकेको जनाएको हो।
‘हाम्रो एकता समृद्धिको आधार’ नाराका साथ सुरु हुने सम्मेलनको उद्घाटन शनिबार हुने र शनिबार बेलुकाबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने संघले जनाएको छ।
यसपटक ४ हजार २८६ प्रतिनिधिहरुले भौतिक तथा अनलाइन माध्यमबाट निर्वाचनमा सहभागिता जनाउने गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले जानकारी दिए।
विश्व सम्मेलन एवम् एकता महाधिवेशनपछि संघको नयाँ पुर्नजन्म हुने उनले बताए। अध्यक्ष केसीले सबैको अपनत्व हुनेगरी संस्था अघि बढ्ने र नेतृत्व चयनमा अध्यक्ष र महासचिव पदमा सहमतिको अधिकतम प्रयास गरिएको बताए।
त्यस्तै गैरआवासीय नेपाली संघका अर्का अध्यक्ष महेश कुमार श्रेष्ठले सहमतिमा नै कार्यसमिति टुङ्गाउने प्रयास भइरहेको बताए। अबको सम्मेलनपछि ४–५ वर्षको विवाद अन्त्य हुने र आफ्नो उदेश्यमा अघि बढ्ने उनको भनाइ छ।
सम्मेलनमा गैरआवासीय ऐन, गैरआवासीयले पाउने नागरिकताका विषय, संविधानप्रदत्त आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, लगानीको विषयलगायतका विभिन्न सत्रमा छलफल हुने संघले जनाएको छ। सम्मेलनमा सरकारका प्रतिनिधिहरु, विभिन्न राष्ट्रिय समन्वय परिषद्का सदस्यहरु, गैरआवासीय नेपाली प्रतिनिधिलगायतको सहभागिता हुने बताइएको छ।





