काठमाडौँ- मधेश केन्द्रित दलहरूको संघीय लोकतान्त्रिक मोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मुलुकको प्रधानमन्त्री बन्नु हर्षको विषय रहेको बताएको छ।
शुक्रबार बबरमहलस्थित जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक महन्थ ठाकुरको कार्यालयमा बसेको मोर्चाको बैठकले बालेनको नेतृत्वलाई आम जनताले व्यापक जनसमर्थन प्राप्त गरेकोले उनलाई प्रधानमन्त्रीको रूपमा हेर्न पाउनु हर्षको विषय रहेको निष्कर्ष निकालेको हो।
मोर्चाको बैठकले प्रधानमन्त्री नियुक्त हुन लागेको बालेनलाई अग्रीम शुभकामनासमेत दिएको छ।
‘मधेशी सपुत बालेनको नेतृत्वलाई आम जनताले व्यापक जनसमर्थन प्रदान गरेकोले निजलाई प्रधानमन्त्रीको रूपमा हेर्न पाउनु हामी लामो समयदेखि संघर्षरत मधेशी, थारू, आदिवासी जनजातिलगायत उत्पीडित समुदायको निम्ति हर्षको विषय हो,’ बैठकपछि जसपा नेपालका संरक्षक ठाकुरले निकालेको विज्ञप्तिमा भनिएको छ,‘तसर्थ यो बैठक माननीय बालेनजीलाई अग्रीम शुभकामना र बधाई ज्ञापन गर्दछ।’
मोर्चाले गणतन्त्र, संघीयता, लोकतन्त्र, समावेशीतालगायतका उपलब्धिलाई संस्थागत गर्दै संविधान संशोधन, सीमांकन हेरफेर, जनसंख्याको आधारमा प्रतिनिधित्व, लाल आयोगको प्रतिवेदन सार्वजनिक, संघीयतालाई थप बलियो बनाउने मुद्दाहरूको सम्बोधन हुने विश्वाससमेत व्यक्त गरेको छ।
बैठकमा जसपा नेपालका संरक्षक ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रेशम चौधरी, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायतका नेताहरू उपस्थित थिए।
२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मोर्चामा आवद्ध कुनै पनि दलले एक सिट पनि जितेको छैन भने समानुपातिकतर्फ थ्रेसहोल्ड पनि कटाउन सकेको छैन।





