काठमाडौँ- धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ। ५५ वर्षीय लिम्बू लामो समयदेखि क्यान्सर उपचाररत थिए।
साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईका अनुसार लिम्बू केही महिनादेखि भारतमा उपचाररत थिए। पारिवारिक स्रोतका अनुसार उनको पार्थिव शरीर अन्तिम संस्कारका लागि धनकुटाको खुवाफोक ल्याउने तयारी भइरहेको छ।
गाउँपालिकाले लिम्बूको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आज गाउँपालिकाभर शोक बिदा दिने निर्णय गरेको अध्यक्ष राईले जानकारी दिए। सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय लिम्बू स्थानीय तहको विकास, सेवा प्रवाह र समुदायका समस्याको समाधानमा निरन्तर लागिपरेका व्यक्ति थिए। उनको निधनले साँगुरीगढी गाउँपालिका–३ मात्र होइन, समग्र गाउँपालिकालाई पनि अपूरणीय क्षति पुगेको अध्यक्ष राईले बताए।





