काठमाडौँ- डडेल्धुरामा हिजो साँझ भरुवा बन्दुक पड्किँदा एक किशोरको मृत्यु भएको छ। परशुराम नगरपालिका–२ बसौटीमा घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किंदा १७ वर्षीय सुवास महराको मृत्यु भएको हो।
बन्दुक पड्किएपछि गम्भीर लागेर घाइते भएका उनलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो। तर, चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
बैतडीको शिवनाथ गाउँपालिका–४ घर भएका महरा आफ्नी दिदी जानकी बोहराको घरमा बस्दै आएका थिए। इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको टोलीले परशुराम नगरपालिका–२ बसौटीका गणेशबहादुर बोहरा र बैतडी शिवनाथ गाउँपालिका–४ का अर्का १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनास्थलबाट भरुवा बन्दुकसमेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





