अमेरिकी–इजराइली सैन्य आक्रमणका क्रममा इरानको राजधानी तेहरानमा ध्वस्त भएको प्रहरी कार्यालयको छेउमा प्रार्थना गर्दै स्वयंसेवकहरू। तस्बिर : एपी/रासस
काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै अन्त्य हुने अभिव्यक्ति दिएपछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा उतारचढाव देखिएको छ। मंगलबार ब्रेन्ट कच्चा तेलको मूल्य घटेर प्रतिब्यारेल ९४.७४ डलरमा झरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सोमबार भने तेलको मूल्य उछालिँदै ११९.५० डलरसम्म पुगेको थियो। युद्ध लम्बिन सक्ने शंकाले बजारमा अस्थिरता बढे पनि ट्रम्पको पछिल्लो टिप्पणीपछि लगानीकर्ताको मनोविज्ञान केही सकारात्मक भएको विश्लेषकहरूले बताएका छन्।
ट्रम्पले इरानले स्ट्रेट अफ होरमुज (सामरिक र व्यापारिक दृष्टिले महत्त्वपूर्ण समुद्री मार्ग) हुँदै गरिने तेल आपूर्ति अवरुद्ध गर्ने प्रयास गरेमा अहिलेभन्दा बीस गुणा कडा प्रहार गर्ने चेतावनीसमेत दिएका छन्।
तेलको मूल्य घटेपछि एसियाली सेयर बजारमा उछाल देखिएको छ। दक्षिण कोरियाको कोस्पी सूचकांक ४.९ प्रतिशतले बढेको छ भने जापानको टोपिक्स २.१ प्रतिशत र हङकङको हाङसेङ इन्डेक्स १.६ प्रतिशतले बढेको छ।
तेलको मूल्यमा आएको गिरावटले ऊर्जा आयातमा निर्भर देशहरूको बजारमा सकारात्मक प्रभाव परेको विश्लेषण गरिएको छ।
यसैबीच अमेरिकी लगानी बैंक गोल्डमन स्याक्सले वर्षको अन्त्यसम्म ब्रेन्ट कच्चा तेलको मूल्य करिब ६६ डलर प्रति ब्यारेल रहने आफ्नो पूर्वानुमान यथावत् राखेको छ। विश्लेषकहरूका अनुसार स्ट्रेट अफ होरमुजमा आपूर्ति अवरोध लामो समय रहेमा भने तेलको मूल्य फेरि उकालो लाग्न सक्छ।
यता पश्चिम एसिया तनावका कारण तरल प्राकृतिक ग्यास (एलएनजी) आपूर्तिमा दबाब बढेको छ। स्ट्रेट अफ होरमुज हुँदै गरिने ऊर्जा ढुवानी अवरुद्ध हुँदा एसिया र युरोपका देशहरू ग्यास आपूर्तिका लागि प्रतिस्पर्धामा उत्रिएका छन्।
ऊर्जा मूल्यको दबाब बढ्ने सम्भावनाबीच दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ ले ऊर्जा संकटसँग जुध्न अतिरिक्त बजेट आवश्यक भएको बताएका छन्।





