काठमाडौँ- ७९औँ कान्स फिल्म फेस्टिभलमा चलचित्र विकास बोर्डले नेपालको तर्फबाट औपचारिक सहभागिता जनाउने भएको छ।
बोर्डले एक विज्ञप्तिमार्फत कान्समा नेपालको सहभागिता रहने जानकारी दिएको हो। नेपालको फिल्मको प्रवर्द्धन, अन्तर्राष्ट्रिय सहकार्य नेपाली फिल्मकर्मीहरूलाई विश्वस्तरमा पहुँच दिलाउने उद्देश्यले उक्त फेस्टिभलमा सहभागी जनाएको विज्ञप्ति उल्लेख छ।
फेस्टिभलमा नेपालको एक स्टल (बुथ) पनि रहनेछ। जसमा बोर्ड र नेपाल पर्यटन बोर्डको सहकार्यमा रहनेछ।
‘फेस्टिभलमा व्यक्तिगतरूपमा सहभागी हुने नेपाली फिल्मकर्मीहरूले बोर्डको स्टल (बुथ) साझा गर्दै आफ्नो फिल्म, पोस्टर, ट्रेलर तथा अन्य प्रचार सामग्री अन्तर्राष्ट्रिय दर्शक, वितरक तथा सहकार्यकर्तासमक्ष प्रदर्शन तथा प्रचार-प्रसार गर्न सक्नेछन्,’ जारी विज्ञप्तिमा भनिएको छ।
फेस्टिभल आगामी मे १२ देखि २३, २०२६ सम्म फ्रान्सको कान्स सहरमा हुनेछ।






