काठमाडौँ- इरानमा आयतुल्लाह अली खामेनीका छोरा मोजतबा खामेनीलाई नयाँ सर्वोच्च नेताको रूपमा चुनिएको छ। इरानका जनताले यसमा मिश्रित प्रतिक्रिया दिएका छन्।
मोजतबा सर्वोच्च नेता चुनिएपछि सरकार समर्थकहरूले उत्सव मनाइरहेका छन् भने केही मानिसहरू आक्रोशित देखिएका छन्।
तेहरानकी ४० वर्षीया एक महिलाले मोजतबा आफ्ना पिताभन्दा पनि खराब रहेको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ। अमेरिका र इजरायलले उनलाई पनि निशाना बनाउने ती महिलाको भनाइ छ।
एक २० वर्षीया युवतीले मोजतबा आफ्ना पिताभन्दा पनि बढी दमनकारी रहेको बताएकी छन्।
अर्कोतर्फ इरानका शासन समर्थकहरू भने मोजतबालाई नयाँ सर्वोच्च नेता बनाइएको खुसीमा तेहरानका सडकहरूमा उत्सव मनाएका छन्।
इरानको राजधानीमा हजारौँ मानिसहरू नयाँ नेताप्रति आफ्नो निष्ठा व्यक्त गर्न भेला भएका थिए।





