बागलुङ- बागलुङको रायराँयकोट यतिबेला चर्चामा छ। गुराँसको जंगलबीच रहेको धार्मिक तथा पर्यटकीयस्थल रायराँयकोटमा पूर्वाधार थपिएसँगै त्यहाँ पुग्ने पर्यटक बढेका हुन्।
रायराँयकोटमा सडक, विद्युत्लगायतका पूर्वाधारको विकास भएको छ भने सत्तल पनि निर्माण भएको हो। रायराँयकोट पञ्चकोटसँग जोडिएकाले पनि पर्यटक आकर्षित गर्न सहज भएको छ।
बागलुङ नगरपालिका-७ बौलुङमाथिको डाँडामा रहेको रायराँयकोट आसपासको क्षेत्र गुराँसले ढकमक्क भएको स्थानीय लालबहादुर गौतमले बताए।
यहाँ वैशाख र जेठमा स्थानीय समुदायले वर्षादेवका रूपमा समेत पूजाआजा गर्दै आएका छन्।
बागलुङ नगरपालिका र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयबाट यहाँको पूर्वाधार निर्माणमा सहयोग आएको छ। अहिले त्यहाँ सडक पुगेकाले सहज भएको छ।
स्थानीय गौतमले भने,‘पदमार्ग, खानेपानी, शौचालय र सत्तलजस्ता धार्मिक पूर्वाधारहरु निर्माण भएका छन्, अहिले गुराँससँग फोटो खिच्ने, टिकटक बनाउने र हिमशृङ्खला हेर्न यहाँ आउने बढेका छन्।’
गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयअन्तर्गत रायराँयकोटमा अहिलेसम्म रु २० लाखको पूर्वाधार निर्माण भइसकेको छ।
मन्दिरको छाना छाउने, पुरानो घण्टी संरक्षण, सत्तल निर्माण, पर्खाल निर्माण र मैदान बनाइएको छ।
यस्तै पञ्चकोटदेखि संसारकोट पुग्ने पदमार्ग निर्माणका लागि रु ५० लाख बजेट संघीय सरकारबाट आएको छ।





