धनुषा–१ को मतपरिणाम सार्वजनिक नगर्न आयोगको निर्देशन

हिमाल प्रेस २४ फागुन २०८२ १५:३४ | Sunday, March 8, 2026
54
SHARES
धनुषा–१ को मतपरिणाम सार्वजनिक नगर्न आयोगको निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले धनुषा निर्वाचन क्षेत्र नम्बर १ को मतपरिणाम तत्काल सार्वजनिक नगर्न निर्देशन दिएको छ।

‘उम्मेदवारी खारेज गर्ने’ निर्णयसम्बन्धी रिट सर्वोच्च अदालतमा विचाराधीन रहेकोले मतपरिणाम सार्वजनिक नगर्न आयोगले निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो।

‘प्रस्तुत विषयमा यस आयोगको बैठकबाट २०८२/११/१८ मा भएको ‘उम्मेदवारी खारेज गर्ने’ निर्णयका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको हुँदा यस सम्बन्धमा अदालतबाट आदेश नहुँदासम्म त्यस निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मत परिणाम घोषणा नगर्न नगराउनु हुने आयोगको मिति २०८२÷११÷२४ को निर्णयानुसार अनुरोध छ,’ आयोगले निर्वाचन अधिकृतको कार्यालयलाई पठाएको पत्रमा उल्लेख छ।

निर्वाचन आयोगले १८ फागुनमा सरकारको कालो सूचीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी रद्द गरेपछि धनुषा–१ मा मतगणनासम्बन्धी अन्योलता सिर्जना भएको हो।

उम्मेदवारी रद्द गर्ने आयोगको निर्णयलाई चुनौती दिँदै साहले सर्वोच्च अदालतमा रिट हालेका छन्। दाबीविरोधको अवधि सकिएपछि र मौन अवधिमा उम्मेदवारी खारेज गर्नु कानुनविपरित भएको भन्दै उनले सर्वोच्चमा रिट हालेका हुन्। रिटमाथि सुनुवाइका लागि सोमबार पेसी तोकिएको छ।

पेसाले निर्माण व्यवसायी रहेका साह कालो सूचीमा रहेको पाइएपछि आयोगले उनको उम्मेदवारी रद्द गरेको थियो। उनको उम्मेदवारी रद्द भए पनि धनुषा–१ मा रास्वपाको चुनाव चिह्नसहितको मतपत्र पठाइएको थियो। उम्मेदवारी रद्द भएको साहको चुनाव चिह्नमा पनि मतदाताहरूले मत हालेका छन्। आयोगको निर्देशनपछि लागतका लागि साहले पाएको मतसमेत गणना गरिएको थियो।

मतगणनाको पछिल्लो परिणामअनुसार रास्वपा उम्मेदवार साह अग्रस्थानमा रहेका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मातृकाप्रसाद यादव दोस्रो, नेपाली कांग्रेसका रामपल्टन साह तेस्रो र नेकपा एमालेका रामचन्द्र मण्डल चौथो स्थानमा रहेका छन्।

निर्वाचन अधिकृतको कार्यालयले जनाएअनुसार धनुषा–१ को सबैला र गणेशमान चारनाथ नगरपािलका गरी ६ वटा वडाको मतगणना गर्न अझै बाँकी छ।

प्रकाशित: २४ फागुन २०८२ १५:३४ | Sunday, March 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast