काठमाडौँ उपत्यकामा फैलिएको वायु प्रदूषण। फाइल तस्बिर
काठमाडौँ- काठमाडौँ उपत्यकामा पछिल्ला केही दिनयता मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण पनि बढ्न थालेको छ। लामो समयसम्म वर्षा नहुनु, हावा नचल्नुलगायत कारणले मौसम धुम्मिएको हो।
एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार आज (आइतबार) मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकांक १८६ पुगेको छ। यससँगै काठमाडौँ विश्वको चौथो प्रदूषित सहरका रूपमा सूचीकृत भएको हो।
एक्यूआईको मापदण्डअनुसार शून्यदेखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्दछ। त्यस्तै, १०१ देखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेषगरी श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्ने भएकाले सचेतना अपनाउन विभागका महानिर्देशक सुवेदीले आग्रह गरे। उनका अनुसार १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ।
स्वास्थ्यमा असर
वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ। प्रदूषणले दम, ब्रोङकाइटिस, निमोनिया, फोक्सोको क्यान्सर, मुटुरोग, हाइपर टेन्सन, मस्तिष्कघातलगायतको समस्या बढाउने फिजिसियन डा. लोचन कार्की बताउँछन्।
‘वायु प्रदूषणले अल्पकालीन र दीर्घकालीन रोगको जोखिम बढाउँछ,’ उनले भने, ‘दम, आस्थमा, फोक्सोको क्यान्सर, छालाको एलर्जीलगायतका विभिन्न किसिमका रोग लाग्ने सम्भावना हुन्छ।’
‘स्टेट अफ ग्लोबल इयर २०२०’ को तथ्यांकअनुसार नेपालमा वार्षिक ४२ हजारभन्दा बढी मानिसको मृत्युको कारण वायु प्रदूषणसँग जोडिएको छ। साथै वायु प्रदूषणले नेपालीको औसत आयु ३ वर्षले घटेको सो प्रतिवेदनमा दाबी गरिएको छ। केन्द्रीय तथ्यांक कार्यालयका अनुसार नेपालीको औसत आयु ७२ वर्ष छ।
‘वायु प्रदूषण प्रत्यक्ष नजोडिए पनि अप्रत्यक्ष रूपमा थुप्रै रोगहरूको कारण हो,’ डा. कार्कीले भने, ‘आजको भोलि नै मृत्यु नहोला तर वायु प्रदूषणले स्वास्थ्य झन्झन् बिगार्दै लगेर मृत्युको मुखमा पुर्याउँछ।’
यसरी गर्न सकिन्छ नियन्त्रण
वायु प्रदूषणका मुख्य स्रोतहरू भनेको गाडी, उद्योगधन्दा, इँटाभट्टालगायतबाट निस्कने धुलोधुवाँ हो। साथै अन्तरदेशीय प्रदूषण, अव्यवस्थित रूपमा जलाउने फोहोर, डढेलो पनि प्रदूषणको मुख्य स्रोत भएको वातावरण निरीक्षक गोविन्द लामिछाने बताउँछन्। ‘भारतबाट आउने वायु प्रदूषणको समस्या तराई र पहाडी क्षेत्रमा ठूलो छ,’ उनले भने, ‘यसको पहल सरकारको माथिल्लो तहबाटै हुनुपर्छ।’
यस्तै डढेलो, गहुँ काटिसकेपछि नलहरू बाल्नेलगायतका विषयमा स्थानीयस्तरमा सचेतनाको खाँचो रहेको उनी बताउँछन्। ‘यस्ता स्रोतबाट हुने प्रदूषणलाई रोकथाम तथा नियन्त्रण गर्नु अहिलेको आवश्यकता हो,’ लामिछानेले भने, ‘यसमा स्थानीय सरकारले पनि प्राथमिकता दिएर काम गर्नुपर्छ।’
डा. कार्की पनि वायु प्रदूषण नियन्त्रणका लागि तीनै तहका सरकार लाग्नुपर्ने बताउँछन्। ‘पुराना गाडीहरू हटाउने, जहाँ पायो त्यही आगो नबाल्ने, कलकारखानाहरू सहर नजिकै राख्न नदिने र सहरीकरण गर्दा सरकारले विशेष ध्यान दिनुपर्छ,’ उनले भने, ‘अन्य देशमा धुलो हुँदैन, दुबो घाँसहरू रोपिएको हुन्छ, सिमेन्ट लगाइएको हुन्छ। यस्ता विषयमा सरकारको ध्यानाकर्षण हुनुपर्छ।’
साथै वायु प्रदूषणबाट जोगिन सर्वसाधारणले मास्क र चस्मा लगाउनुको विकल्प नभएको उनी बताउँछन्।





