प्रारम्भिक नतिजा : मुख्य दलका नेता नै कमजोर

हिमाल प्रेस ६ मंसिर २०७९ १२:५३ | Tuesday, November 22, 2022

काठमाडौँ-  प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मत परिमाण आउँदै गर्दा ठूला दलका मुख्य नेता कमजोर देखिएका छन्। हालसम्म नेपाली कांग्रेसका बाहेक कम्युनिस्ट र मधेश केन्द्रित दलका नेताहरू कमजोर देखिएका छन्।

सार्वजनिक भइरहेका मतपरिणाम अनुसार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो रेड जोनमा परेका हुन्। यस्तै, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल कमजोर छन्।

यता एकीकृत समाजवादीको पनि हाल उस्तै छ। हालसम्म उपाध्यक्ष राजेन्द्र पाण्डे लगायतका नेता पनि कमजोर अवस्थामा छन्। वामपन्थी दललाई पार्टी फुटको प्रभाव परेको कतिपयको बुझाइ छ। समाजवादीले गठबन्धन गरेको भए प्रारम्भिक नतिजा कमजोर देखिएको छ। यता माओवादी केन्द्रमा पनि महासचिव देव गुरुङ कमजोर देखिएका छन्। लमजुङबाट चुनाव लड्दै गरेका उनलाई एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ अघि छन्। माओवादीलाई पनि गठबन्धनले साथ नदिएको देखिन्छ।

इलाम १ मा समाजवादीका नेता खनाल एमालेका महेश बस्नेतसँग पछि परेका छन्। एमालेका बस्नेतले ५६ सय २६ मत ल्याउँदा खनालले ४ हजार ८ सय ५० मत ल्याएका छन्।

साथै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग दोब्बर मतले पछि परेका छन्। राउतले १४ हजार ४ सय ६८ मत ल्याउँदा यादवले ७ हजार २ सय ७१ मत ल्याएका छन्।

यस्तै लोसपाका अध्यक्ष ठाकुर महोत्तरी ३ मा स्वतन्त्र उम्मेदवार राम आदार कापरसँग पछि परेका छन्। कापरले २२ सय ४ ल्याउँदा ठाकुरले १९ सय ९६ मत ल्याएका छन्। सर्लाही २ मा लोसपाका राजेन्द्र महतो माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवसँग पछि परेका छन्। यादवले १८ सय २५ मत ल्याउँदा महतोले १३ सय ११ मत ल्याएका छन्।

प्रकाशित: ६ मंसिर २०७९ १२:५३ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast