काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न निर्वाचनको मतगणना देशभर जारी रहेको छ। हाल विभिन्न निर्वाचन क्षेत्रमा प्रारम्भिक मतपरिणाम आउन थालेका छन् भने धेरै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका छन्।
तनहुँ निर्वाचन क्षेत्र नं-१ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले १ हजार ३५२ मतसहित अग्रता लिएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५९० मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी भगवती न्यौपानेले ४१६ मत प्राप्त गरेकी छन्।
काठमाडौँ निर्वाचन क्षेत्र नं-३ मा रास्वपाका राजुनाथ पाण्डेले २ हजार ९६० मतसहित अग्रता लिएका छन्। उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले २ हजार ७०६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रमेश अर्यालले १ हजार ११ मत प्राप्त गरेका छन्।
चितवन निर्वाचन क्षेत्र नं-२ मा भने नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरे ७५५ मतसहित अगाडि रहेका छन्। रास्वपाका रवि लामिछानेले ५३१ मत प्राप्त गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङले २९५ तथा नेपाली कांग्रेसकी मीना खरेलले २५६ मत प्राप्त गरेका छन्।
काठमाडौँ निर्वाचन क्षेत्र नं-२ मा रास्वपाका सुनिल केसीले १ हजार ६४६ मतसहित अग्रता लिएका छन्। नेपाली कांग्रेसका कविर शर्माले ८४९ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेलले ६२८ मत प्राप्त गरेका छन्।
दाङ निर्वाचन क्षेत्र नं-१ मा पनि रास्वपाका उम्मेदवार देवराज पाठकले १ हजार ५१५ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। नेपाली कांग्रेसका योगेन्द्र चौधरीले २९२ तथा नेकपा एमालेका रेवतीरमण घिमिरेले २२० मत प्राप्त गरेका छन्।
काठमाडौँ निर्वाचन क्षेत्र नं-९ मा हालसम्म गनिएका ४ हजार २३४ मतमध्ये रास्वपाका उम्मेदवार डोलप्रसाद अर्यालले २ हजार २४४ मत प्राप्त गर्दै अग्रता लिएका छन्। नेपाली कांग्रेसकी नानु बास्तोलाले २६१ तथा एमालेका अजयक्रान्ति शाक्यले १५२ मत प्राप्त गरेका छन्।
काठमाडौँ निर्वाचन क्षेत्र नं-१० मा पनि रास्वपाका प्रदीप विष्ट फराकिलो मतान्तरसहित अगाडि रहेका छन्। हालसम्म गणना भएका ६ हजार ४२० मतमध्ये विष्टले ४ हजार २३४ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका हिमाल कार्कीले ८१५ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले ५५७ मत प्राप्त गरेका छन्।
यसैबीच झापा निर्वाचन क्षेत्र नं-५ मा पनि मतगणना जारी छ। पछिल्लो मतपरिणामअनुसार रास्वपाका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले १ हजार ४७८ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३८५ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका रन्जित तामाङले ९० मत प्राप्त गरेका छन्।
देशभर मतगणना जारी छ।





