काठमाडौँ- नेपालले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा भारतले स्वागत गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता श्री रन्धिर जैसवालले मतदानमा देखिएको उत्साहजनक सहभागिताको प्रशंसा गर्दै प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका हुन्।
विशेष परिस्थितिहरूका बीच पनि यो निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुलाई भारतले सकारात्मक रूपमा लिएको छ। भारतले नेपालको शान्ति, प्रगति र स्थायित्वका लागि सधैँ अडिग समर्थन जनाउँदै आएको पनि विज्ञिप्तिमा जनाइएको छ।
यसै प्रतिबद्धता अनुरूप नेपाल सरकारको अनुरोधमा भारतले निर्वाचनका लागि आवश्यक पर्ने लजिस्टिक तथा बन्दोबस्तीका सामग्रीहरू समेत सहयोग स्वरूप उपलब्ध गराएको प्रवक्ता जैसवालले बताएका छन्।
उनले आगामी दिनमा गठन हुने नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न भारत उत्सुक रहेको पनि उल्लेख गरेका छन्। साथै दुई देश र यहाँका जनताबीच रहेको ऐतिहासिक एवं बहुआयामिक सम्बन्धलाई आपसी हितका लागि थप मजबुत बनाउँदै अगाडि बढ्ने लक्ष्य भारत सरकारले राखेको विज्ञप्तिमा उल्लेख छ।






