काठमाडौँ- निर्वाचनको मौन अवधिको समयमा काठमाडौँको नयाँबानेश्वरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ। काठमाडौँ प्रहरी परिसरका प्रमुख रमेश थापाका अनुसार मृतक सुनसरीको इनरुवा नगरपालिका-५ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्ने ४८ वर्षका बद्रि कोइराला रहेका छन्।
प्रदेश ३–००१ ब ९४५ नम्बरको सरकारी नम्बरको स्कुटरमा सवार कोइरालालाई आज बिहान ८:४५ बजे बा. २ क ३२२९ नम्बरको टिपरले सिभिल अस्पताल अगाडि ठक्कर दिएको थियो। फोहोर बोक्ने टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो ।
उनलाई बिहान ८:५५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रमुख थापाले जानकारी दिए। टिपर चालक गोर्खाको भूमिचोक स्थायी घर भई हाल काठमाडौंको पेप्सीकोला बस्ने २६ वर्ष विकाश थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फागुन २१ को निर्वाचनको पूर्वार्धमा यतिबेला मौन अवधिको समय छ। काठमाडौँमा सवारी तुलनात्मकरूपमा कम छन्। तर यही समयमा पनि दुर्घटना निरन्तर भइरहेका छन्।





