काठमाडौँ- शिखर पावर डेभलपमेन्ट लिमिटेडले आज (आइतबार)देखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरे अब सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी ९८ करोड रूपैयाँको ३२।६५ प्रतिशत अर्थात ३२ करोड रूपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये ९ लाख ८० हजार कित्ता साधारण सेयर वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा भएको विवरण तथा विद्युत उत्पादन अनुमतिपत्रको आधारमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि, २ लाख २२ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि र १ लाख ११ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
अब भने कम्पनीले दोस्रो चरणमा कम्पनीका कर्मचारीहरूका लागि ४४ हजार ४०० कित्ता छुट्याई बाँकी रहेको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ करोड ४२ लाख ६० हजार रूपैयाँ बराबरको १८ लाख ४२ हजार ६०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो।
उक्त सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा फागुन २२ गतेसम्म आवेदन दिन सकिनछ। सो समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि चैत १ गतेसम्म लम्बिनेछ।





