काठमाडौँ- बबरमहलस्थित आर्ट काउन्सिलमा टोकियोको विगत र वर्तमानको फोटोग्राफिक यात्रा समेटिएको प्रदर्शनी सुरु भएको छ।
नेपाल र जापानबीचको मित्रताको ७० वर्ष पुगेको अवसरमा फोटोग्राफिक प्रदर्शनी सुरु गरिएको जापानी दूतावास नेपाल सूचना तथा संस्कृति शाखाका पुरव कायस्थले बताए।
‘टोकियो अघि र पछि’ नामक प्रदर्शनीको उद्देश्य नेपाली जनतालाई जापानी संस्कृति र कलाको परिचय गराउनु र प्रवर्द्धन गर्नु हो,’ उनले भने, ‘हामीले नेपाल र जापानबीच मित्रताको ७० औं वार्षिकोत्सवको अवसरमा प्रर्दर्शनी आयोजना गरेका हौँ।’
उनका अनुसार प्रदर्शनीमा सन १९३० देखि ४० को दशकमा टोकियोका तस्बिरहरू खिच्ने फोटोग्राफरहरूका कामहरू सन २०१० पछि खिचिएकाहरूसँग मिल्दोजुल्दो तस्बिर प्रस्तुत गरिएको छ। जसमा ‘ब्ल्याक एन्ड ह्वाइट’देखि समकालीन रंगीन तस्बिरहरू छन्। तस्बिरले सामाजिक, आर्थिक र वास्तुकला परिवर्तनहरूको सन्दर्भमा टोकियोको विकासलाई प्राथमिकता दिएको कायस्थले बताए।

‘प्रदर्शनमा टोकियोको आधुनिकीकरण र शहरी रूपान्तरणका फराकिलो विषयवस्तुहरू अन्वेषण गर्न सकिनेछ’ उनले भने। प्रदर्शनीमार्फत जापानी फोटोग्राफरहरूको काम र उनीहरूको विशिष्ट छवि अनुभव गर्न सकिने उनको भनाइ छ।
शुक्रबार अर्थात् फागुन १५ देखि औपचारिक रुपमा सुरु भएको प्रदर्शनी आगामी चेत ५ (फेब्रुअरी २८ – मार्च ८) सम्म चल्नेछ। प्रदर्शनी जापानी दूतावास नेपाल र जापान फाउन्डेसनको सहकार्यमा आयोजना गरिएको हो।

फागुन १५ र २१ (मार्च २ र ५) बाहेक प्रदर्शनी हरेक दिन ९ः ३० बजेदेखि अपरान्ह ४ः३० बजेसम्म खुल्ला रहने आयोजकले जनाएको छ। प्रदर्शनी प्रवेश निःशुल्क छ।






