काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन्। शुक्रबार सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरिन्।
साथै उनले राजदूत चाङ माओमिङले प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझै उचाइमा पुर्याउने महत्त्वपूर्ण भूमिकामा सफल हुने विश्वास व्यक्त गरिन्।
राजदूत माओमिङले प्रधानमन्त्री कार्कीलाई मुलुकमा शान्ति, सुरक्षा र कानुनको शासन बहाल गरी शान्तिपूर्ण वातावरणमा निर्वाचन हुने सुनिश्चितता भएको भन्दै बधाई ज्ञापन गरे। नेपालको यस प्रक्रियामा चीनको साथ र सहयोग रहेको पनि उनले बताए।
प्रधानमन्त्री कार्कीले पनि नेपालको लोकतान्त्रिक प्रक्रियाको महत्त्वपूर्ण हिस्सा निर्वाचनमा चीनबाट प्राप्त सदासयता र सहयोगका लागि कृतज्ञता ज्ञापन गरिन्।
संस्कृति, भूगोल र ऐतिहासिक सम्बन्धले दुवै मुलुकलाई कसिलोसँग जोडेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले नेपाल पञ्चशीलको सिद्धान्तमा अडिग रहेको, एक चीन नीति अवलम्बन गर्दै आएको र निकट छिमेकी मुलुकको अहितमा कुनै पनि गतिविधि हुन नदिनेमा पनि सदाझैँ स्पष्ट रहेको बताइन्।
एउटा मुलुकमा अस्थिरता हुँदा अर्कोमा पनि समस्या हुन सक्ने भन्दै उनले क्षेत्रीय शान्ति र स्थायित्वका निम्ति पनि आपसी सहकार्य मजबुत बनाउँदै लैजानुपर्ने धारणा राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
चिनियाँ राजदूत माओमिङले नेपाल सरकारको यस नीति र अडानका लागि चिनियाँ जनता र त्यहाँका राष्ट्रपतिको तर्फबाट धन्यवाद व्यक्त गरे।





