कालीकोट प्रशासनले भन्यो- इन्धनको खुला बिक्रीवितरण नगर्नू

हिमाल प्रेस १५ फागुन २०८२ १४:५० | Friday, February 27, 2026
8
SHARES
कालीकोट प्रशासनले भन्यो- इन्धनको खुला बिक्रीवितरण नगर्नू

मान्म (कालीकोट)- प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जथाभावी पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयले पेट्रोलियम पदार्थको खुला बिक्रीवितरणमा रोक लगाएको हो।

निर्वाचन अवधिभर पेट्रोल, डिजेल र मट्टितेललगायत पेट्रोलियम पदार्थ बोतल, जर्किन वा अन्य खुला भाँडामा बिक्रीवितरण गर्न रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताए।

जिल्ला सुरक्षा समितिको बैठकअनुसार इन्धन बिक्री गर्ने सबै पेट्रोलपम्प तथा व्यवसायी अनिवार्य रूपमा सम्बन्धित निकायमा दर्ता भई सञ्चालन भएको हुनुपर्ने र दर्ता नभएका व्यक्ति वा संस्थाले पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्न नपाउने गरी रोक लगाइएको उनले जानकारी दिए।

यसै गरी तोकिएको मूल्यभन्दा बढी मूल्यमा बिक्री, कृत्रिम अभाव सिर्जना, अनावश्यक मौज्दात राख्ने वा निर्वाचन प्रयोजनबाहेक अन्य प्रयोजनका लागि दुरुपयोग गर्न नपाइने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

एम्बुलेन्स, अस्पताल, सुरक्षा निकाय तथा निर्वाचन प्रयोजनका सवारीसाधनलगायत अत्यावश्यक सेवामा संलग्न सवारीसाधनलाई मात्र सम्बन्धित निकायको सिफारिस वा आधिकारिक परिचयपत्रका आधारमा आवश्यक परिमाणमा इन्धन उपलब्ध गराइने कार्यालयले जनाइएको छ।

‘उक्त व्यवस्था कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा नेपाल आयल निगमको समन्वयमा नियमित तथा आकस्मिक अनुगमन गरिनेछ। सुरक्षा समितिको निर्णय उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम जरिवाना, इजाजतपत्र निलम्वन वा खारेजसहित आवश्यक कानुनी कारबाही गरिने छ’, सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भने।

पेट्रोलियम व्यवसायी, ढुवानी व्यवसायी तथा आमनागरिकलाई अनिवार्य रूपमा निर्णय पालना गर्न तथा कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल प्रशासन वा सुरक्षा निकायमा जानकारी गराउन आग्रह गरिएको छ।

प्रकाशित: १५ फागुन २०८२ १४:५० | Friday, February 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast