काठमाडौँ- धादिङको बेनिघाट रोराङ गाउँपालिका-५, भैँसीगौडामा केही दिनअघि भएको बस दुर्घटनाका घाइतेहरूको उद्धारमा सहयोग पुर्याउने स्थानीय अरुण थपलियालाई सम्मान गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज (बुधबार) सिंहदरबारमा एक समारोहका बीच उनलाई सम्मान गरेको हो। प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेश भट्टले उनलाई सम्मान प्रदान गर्दै स्वतःस्फूर्त रूपमा स्वयंसेवा गरेको थपलियालाई धन्यवाद दिए।
उनले जुनसुकै विपद्का घटनामा स्थानीयनै सबैभन्दा पहिले पुग्ने हुनाले प्राधिकरणले तालिम दिएरै स्थानीय स्वयंसेवक उत्पादनको कामलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको जानकारी पनि दिए। थपलियाले आफूले सूचना पाउनासाथ कसरी उद्धारमा खटिए र रातको समय तथा ठाडो भिरका कारण उद्धारको काममा झेल्नुपरेको कठीनाइका बारेमा आफ्नो अनुभव सुनाए।
बेनिघाट रोराङ गाउँपालिका-५, चरौँदीका स्थानीय र्याफ्टिङ व्यवसायी थपलियाले व्यक्तिगत र्याफ्टको प्रयोग गरी २४ जना घाइतेको उद्धारको काममा सुरक्षाकर्मीलाई सहयोग गरेका थिए। यही फागुन ११ गते साँझ पोखराबाट काठमाडौँ आइरहेको यात्रुबाहक बस बिहान करिब १ः३० बजे धादिङको भैँसीगौडामा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो।





