सर्लाही- प्रतिनिधिसभा सदस्य निर्वाचनको समय घर्किँदै जाँदा चुनावी सरगर्मी बढेको छ। फागुन २१ गते हुने निर्वाचनका लागि प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरू यतिबेला प्रचारप्रसार र घरदैलो अभियानलाई तीव्रता दिन जुटेका छन्।
देशभर चुनावी उत्साह तात्दै गर्दा सर्लाही-४ मा हुने चुनाव चर्चाको केन्द्रमा देखिएको छ। कारण हो- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको यो क्षेत्रबाट उम्मेदवारी। कांग्रेसले गगनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै सर्लाही-४ वटा चुनाव लडाएको छ।
आफ्ना लागि सहज काठमाडौँ-४ छोडेर गगन विल्कुलै फरक भूगोल र नयाँ परिवेशमा चुनाव लड्न पुगेका हुन्। भाषा, भेषभूषा, रहनसहन, संस्कृति, पहिचानलगायतका दृष्टिकोणले सर्लाही-४ गगनका लागि पक्कै पनि सहज क्षेत्र होइन।
कतिपयले आफ्नो पारम्परिक क्षेत्र छोडेर सर्लाहीमा चुनाव लड्ने गगनको निर्णयलाई ‘आत्मघाती’ भनेका छन् भने कतिपयले ‘साहसिक’ भनेर टिप्पणी गरेका छन्।
कांग्रेस सभापति गगन भने काठमाडौँलाई मधेश बुझाउन सर्लाहीबाट उम्मेदवारी दिएको बताउने गरेका छन्। मधेश र काठमाडौँलाई जोड्न आफूले सर्लाहीबाट उम्मेदवारी दिएको उनको भनाइ छ।
गगन यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियानमा जुटेका छन्। बिहानै सुरु हुने घरदैलो अबेर रातिसम्म चलिरहन्छ। मंगलबार दिउँसो उनी सर्लाही-४ अन्तर्गतको बलरा नगरपालिकास्थित मिर्जापुरमा घरदैलो गरेका थिए।
घरदैलोमा गगनलाई साथ दिइरहेका छन्, सर्लाहीका स्थानीय कांग्रेस नेता तथा कार्यकर्ता। यही बलरा नगरपालिकाका हुन् निर्वतमान सांसद अमरेशकुमार सिंह।
२०७९ सालको निर्वाचनमा स्वतन्त्र भएर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका अमरेश यसपालि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टिकट लिएर कांग्रेस सभापति गगनको ‘टक्कर’ मा उत्रिएका छन्।
सर्लाही-४ कांग्रेसको ‘पकेट’ क्षेत्रका रूपमा चिनिन्छ। २०४८ सालदेखि यस क्षेत्रबाट कांग्रेसका उम्मेदवार निर्वाचित हुँदै आएका छन्। २०४८ देखि तीनवटा चुनावमा यस क्षेत्रमा कांग्रेसबाट चुनाव लडेर महन्थ ठाकुर निर्वाचित भएका थिए। त्यस्तै २०७० र २०७४ को निर्वाचनमा यहाँबाट कांग्रेसको उम्मेदवार बनेका अमरेश निर्वाचित भएका थिए।
यसअघि कांग्रेसबाटै प्रतिस्पर्धा गरेर निर्वाचित हुँदै आएका तर टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दिएका अमरेशले २०७९ सालको निर्वाचनमा कांग्रेसका नागेन्द्र कुमारलाई पराजित गरे। अमरेशले २० हजार १७ मत प्राप्त गर्दा नागेन्द्रले १८ हजार दुई सय ५३ मत ल्याएका थिए। कांग्रेससँग गठबन्धन गरे पनि तत्कालीन माओवादी केन्द्रबाट शिवपुजन यादवकी छोरी मधुमालाकुमारी यादव बागी बनेर चुनाव लडेकी थिइन्।
गठबन्धनका कारण रूष्ट बनेका कांग्रेसका मतदाताले मत ‘डाइभर्ट’ गरिदिँदा अमरेशले चुनाव जितेको बताइन्छ। यस क्षेत्रमा अमरेशको आफ्नो व्यक्तिगत पकड रहेकै बेला मधेशमा रास्वपाका पक्षमा चलेको ‘परिवर्तन’ को लहरको फाइदा उठाउन चाहेका छन्।
चुनावी कार्यक्रममा कांग्रेस सभापति गगनलाई लक्षित गरेर उनले ‘बाहिरी’ उम्मेदवारलाई मतदातालाई नपत्याउने दाबी गर्ने गरेका छन्।
यसका साथै रास्वपा उम्मेदवार अमरेशले कांग्रेसकै विभिन्न गुटहरूबीच झगडा लगाउने रणनीतिसमेत अपनाएको देखिन्छ। विशेष महाधिवेशनमार्फत कांग्रेसलाई ‘हाइज्याक’ गरेर गगन सर्लाही-४ मा चुनाव लड्न आएको उनले बताउने गरेका छन्। यसो भनेर अमरेशले कांग्रेसको देउवा-शेखर गुटलाई सभापति गगनसँग चिढ्याउन लगाएर फाइदा लिन चाहेका छन्।
सर्लाही कांग्रेसका नेताहरू भने यसपालि चुनावका क्रममा पार्टीभित्र गुटहरू अन्त्य भएको बताउँछन्। रास्वपा उम्मेदवार अमरेशले जेजस्तो रणनीति अपनाए पनि जित भने कांग्रेसकै हुने उनीहरूको दाबी छ।
यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने कांग्रेस मधेश प्रदेशका उपसभापति एवं प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंह पार्टी सभापति गगनलाई भारी मतले जिताएर पठाउने बताउँछन्। पटकपटक जितेर गए पनि विकास शून्य भएकाले मतदाताले अमरेशलाई मत नहाल्ने उनको दाबी छ।
सर्लाही-४ का मतदाता भने बाँडिएका देखिन्छन्। परिवर्तनको लहर भन्दै रास्वपाका उम्मेदवारलाई जिताउनुपर्ने मत त्यहाँ देखिएको छ भने प्रधानमन्त्रीका उम्मेदवार जितेर गएपछि आफूहरूको क्षेत्रको कायापलट गर्ने मत राख्ने मतदाता पनि उल्लेख्य देखिएका छन्।
‘अमरेशजी तीनपटक यहाँबाट जितेर जानुभयो, यस क्षेत्रको विकास हुन सकेन, शिक्षा, स्वास्थ्य, कृषिको अवस्था लथालिंग छ,’ बलराका एकजना पसलसञ्चालकले भने, ‘यसपालि पनि जित्नुभयो भने उहाँ बढीमा मन्त्री बन्ने हो। तर गगनजी त प्रधानमन्त्रीकै उम्मेदवार हुनुहुन्छ, जितेर गएपछि हाम्रो क्षेत्रमा केही नकेही विकास हुने पक्का छ। त्यसैले उहाँलाई नै जिताउँदा ठिक हुन्छ।’
तर देशभर परिवर्तनको लहर चलेकाले पुराना दलहरूको विकल्प खोज्नुपर्ने मत राख्नेको संख्या पनि सर्लाही-४ मा ठूलो देखिएको छ। यस क्षेत्रमा अन्य दलका उम्मेदवारहरूले पनि मत पाइरहे पनि मुख्य प्रतिस्पर्धा भने गगन र अमरेशबीच हुने स्थानीय बताउँछन्।
गगन र अमरेशबीच कडा ‘टक्कर’ को अनुमान भइरहेका बेला सर्लाही-४ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा), एमाले, जसपा नेपाल र जनमत पार्टीका उम्मेदवारहरूले पनि निर्णायक भूमिका खेल्ने आकलन गरिएको छ।
नेकपाले यस क्षेत्रमा रजनिस रायलाई उम्मेदवार बनाएको छ। रजनिस नेकपा नेता शिवपुजन रायका छोरा हुन्। अघिल्लो निवार्चनमा पार्टीबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएकी शिवपुजनकी छोरीले १४ हजारभन्दा बढी मत ल्याएकी थिइन्। त्यसैले यस निर्वाचनमा रजनिसले पाउने मतलाई निर्णायक ठानिएको छ। गगन र अमरेशले कांग्रेसकै मत पाउने भएकाले दुवैको जुधाइमा रजनिसले जित निकाल्न सक्ने अनुमान पनि धेरैको छ।
तर नेकपाका केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री रामेश्वराय यादव हालसालै जसपा नेपाल प्रवेश गरेर यसै क्षेत्रबाट चुनाव लडेका छन्। रामेश्वर रायले पार्टी परिवर्तन गरेका कारण नेकपाले क्षति बेहोर्नुपर्ने मतदाताहरू बताउँछन्। त्यस्तै अघिल्लोपटक जसपा नेपालबाट चुनाव लडेर पाँच हजारभन्दा बढी मत ल्याएका राकेशकुमार मिश्र जनमत पार्टीबाट चुनाव लडेका छन्। उनको मत पनि निर्णायक हुन सक्ने ठानिएको छ।
२०७४ सालको निर्वाचनमा अमरेशको निकटतम् प्रतिस्पर्धी रहेका मिश्रा झिनो मतान्तरले पराजित भएका थिए। अमरेशले २९ हजार ६७५ मत ल्याउँदा मिश्रले २८ हजार १३६ मत प्राप्त गरेका थिए।
एमालेले भने अमनिश कुमार यादवलाई आफ्नो उम्मेदवार बनाएको छ।
सर्लाही-४ मा जित्न नसक्ने उम्मेदवारले अन्तिम समयमा गगन र अमरेशमध्ये कुनै एकलाई समर्थन गर्न सक्ने अनुमान पनि मतदाताहरूले गरेका छन्। यस्तो अवस्थामा तेस्रो वा चौथो उम्मेदवारको समर्थन पाउनेले जित निकाल्ने निश्चित रहेको बताइन्छ। तर कसलै पनि समर्थन नगरी सबै उम्मेदवार मैदानमै रहे कांग्रेस सभापति गगनले जित निकाल्ने दाबी सर्लाही-४ का मतदाताहरूको छ।
जातीय अंकगणित
२०७९ मा कांग्रेसबाट विद्रोह गरेर चुनाव लडेका अमरेशले असन्तुष्ट कांग्रेसीको मत पाएका थिए। तर यसपालि सभापति उम्मेदवार बनेर आएपछि उनले कांग्रेसको मत पाउने सम्भावना लगभग सकिएको छ। अन्य चुनावहरू जस्तो यसपालि अन्तर्घातको समस्या नरहेको कांग्रेस नेताहरूको दाबी छ।
विगतमा अमरेशले कुशवाहा र सहनी समुदायको मत पाएका थिए। तर यसपालि कुशवाहा र सहनी समुदायका उम्मेदवारहरू मैदानमा देखिएका छन्। अर्कोतर्फ कुशावाहा समाजले कांग्रेस सभापति गगनलाई समर्थन गर्न विज्ञप्ति निकालेरै आह्वान गरेको छ। सर्लाही-४ मा यादव समुदायका रजनिस र रामेश्वर राय दुईजना बलियो उम्मेदवार भएकाले यो मत पनि बाँडिने देखिन्छ।
धनकौला गाउँपालिका, रामनगर गाउँपालिका, बलरा नगरपालिका, बरहथवा नगरपालिकाको वडा नम्बर १ देखि ४ सम्म र वडा नम्बर १३ देखि १५ सम्म, विष्णु गाउँपालिकाको वडा नम्बर १ देखि ४ सम्म् र बासबरिया गाउँपालिकाको वडा नम्बर १ देखि ३ सम्म गरी कुल ५१ वटा वडा रहेको सर्लाही क्षेत्र नम्बर ४ मा कुल एक लाख २१ हजार १२ मतदाता छन्। सबै उम्मेदवारहरू प्रतिस्पर्धामै रहे यो क्षेत्रबाट जित निकाल्न २० देखि २५ हजार मत आवश्यक देखिन्छ।






