काठमाडौँ- मिथिलाको ऐतिहासिक तथा धार्मिक नगरी जनकपुरधाममा दोस्रो जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न भएको छ। गत फागुन ८ गतेदेखि सुरु भएको महोत्सव फागुन ११ गते सकिएको हो।
‘स्टोरिज् बियोन्ड बोर्डसः ह्वेय कल्चर मिट्स सिनेमा’ भन्ने नारासहित सुरु भएको महोत्सवमा ६५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शन गरिएको थियो। साथै सांस्कृतिक कार्यक्रम, अन्तरक्रिया र फिल्म पर्यटनसम्बन्धी छलफल सत्रहरू चलेको थियो।
महोत्सवमा विभिन्न विधाका उत्कृष्ट फिल्मलाई पुरस्कृत तथा सम्मान गरिएको छ। अन्तर्राष्ट्रिय प्यानोरामा अन्तर्गत डेभिड कासाल्स-रोमाको ‘कप्स’ उत्कृष्ट लघु कथानक फिल्म घोषित भएको छ भने शेख अल मामुनको ‘ड्रेन्ड बाई ड्रिम्स’ उत्कृष्ट फिचर फिल्म बनेको छ।

त्यसैगरी रोस्ताम नजरिको ‘साइद क्यापिलो’ उत्कृष्ट लघु वृत्तचित्र, रिंकु शर्माको ‘हमार रामलिला’ उत्कृष्ट फिचर वृत्तचित्र र बार्तोज जार्जिकीको ‘फियर र स्टार्च’ उत्कृष्ट एनिमेसन अवार्डबाट सम्मानित भएका छन्।
विद्यार्थी प्यानोरामा ‘भ्चाइसेस् अफ टुमोरो’ अन्तर्गत काथ्रिन एलिस कोभालेन्कोको ‘बिल्ट अन होप’ उत्कृष्ट वृत्तचित्र र डानिलो स्तानिमिरोभिचको ‘क्याट्स’ उत्कृष्ट कथानक फिल्म घोषित भए।
क्षेत्रीय प्यानोरामामा विप्लव विश्वासको ‘सकार बकार (रिभर रेड)’ उत्कृष्ट लघु फिल्म बनेको छ भने नेपाली प्यानोरामामा निर्मल पौडेलको ‘निलो आकाश’ उत्कृष्ट लघु कथानक तथा श्रीजन राज पाण्डेको ‘मित्क्पा’ उत्कृष्ट वृत्तचित्र घोषित भएका छन्।
महोत्सव संवाद फाउन्डेसनले आयोजना गरेको हो। जनकपुरको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सवका संयोजक तथा फाउन्डेसनका अध्यक्ष कुमार भास्करले बताए।





