पूर्वगुप्तचर प्रमुख पक्राउ

हिमाल प्रेस १३ फागुन २०८२ १३:२७ | Wednesday, February 25, 2026
14
SHARES
पूर्वगुप्तचर प्रमुख पक्राउ

कोलम्बो- श्रीलंकाले सन् २०१९ को इस्टर सन्डे बम विस्फोट प्रकरणमा देशका पूर्वगुप्तचर प्रमुखलाई पक्राउ गरेसँगै सात वर्षदेखि विवाद र शंकामा रहेको घटनाले नयाँ मोड लिएको छ।

४५ विदेशी नागरिकसहित २७९ जनाको ज्यान लिएको उक्त आक्रमणसँग सम्बन्धित षड्यन्त्र र सहयोगको आरोपमा सेवानिवृत्त मेजर जनरल सुरेश सल्लेलाई बुधबार राजधानी कोलम्बोको उपनगरबाट हिरासतमा लिइएको प्रहरीले जनाएको छ।

अनुसन्धान अधिकारीका अनुसार सल्लेमाथि इस्टर हमलाको योजनामा संलग्न व्यक्तिहरूसँग सम्पर्क राखेको र षड्यन्त्रमा सहयोग गरेको आरोप लगाइएको छ।

उनले यसअघि आत्मघाती आक्रमणको आयोजना गरेको आरोप अस्वीकार गर्दै आएका थिए। अप्रिल २१ मा आक्रमणको सातौँ वार्षिकोत्सव नजिकिँदै गर्दा गरिएको यो गिरफ्तारीलाई दीर्घकालदेखि प्रतीक्षित कदमका रूपमा हेरिएको छ।

समन्वित आत्मघाती विस्फोटहरूले कोलम्बोका तीन उच्चस्तरीय होटल, दुई रोमन क्याथोलिक चर्च र राजधानी बाहिरको एक इभान्जेलिकल चर्चलाई लक्षित गरेका थिए।

स्वदेशी जिहादी समूहलाई दोषी ठहर गरिए पनि घटनाको पृष्ठभूमिबारे निरन्तर प्रश्न उठ्दै आएका छन्। लगभग चार दशक लामो तमिल पृथकतावादी युद्ध सन् २००९ मा अन्त्य भएपछि नागरिकविरुद्धको यो सबैभन्दा घातक आक्रमण बनेको थियो।

गोटाबाया राजापाक्ष राष्ट्रपति बनेपछि सन् २०१९ मै सल्लेलाई राज्य गुप्तचर सेवा (एसआइएस) प्रमुखमा पदोन्नति गरिएको थियो। तर सन् २०२४ मा अनुरा कुमार दिसानायक राष्ट्रपति निर्वाचित भएपछि उनलाई पदमुक्त गरिएको थियो। देशको रोमन क्याथोलिक चर्चले पटकपटक सरकारले वास्तविक योजनाकार पहिचान गर्न असफल भएको आरोप लगाउँदै आएको छ।

बेलायती प्रसारणकर्ता च्यानल ४ ले सन् २०२३ मा सल्ले इस्लामवादी हमलाकर्तासँग जोडिएको र आक्रमणअघि उनीहरूलाई भेटेको दाबी गरेको थियो।

एक ह्विसलब्लोअर (गोप्य जानकारी सार्वजनिक गर्ने व्यक्ति) ले राष्ट्रपति चुनावलाई प्रभावित पार्ने उद्देश्यले आक्रमण हुन दिइएको आरोपसमेत लगाएका थिए। आक्रमणको दुई दिनपछि गोटाबाया राजापाक्षले उम्मेदवारी घोषणा गरेको थिए र इस्लामवादी चरमपन्थ उन्मूलन गर्ने प्रतिबद्धतासहित चुनाव जितेका थिए।

यसैबीच, एक पूर्व जिहादी सदस्यले समूहलाई प्रारम्भिक चरणमा सैन्य गुप्तचर एकाइबाट आर्थिक सहयोग प्राप्त भएको दाबी गरेका थिए। त्यस समय सरकारले कट्टरपन्थी समूहको पछाडि सेनाको संलग्नता स्वीकार गरेको थियो तथापि बम विस्फोटपछि इस्लामिक स्टेट (आइएसआइएस) ले जिम्मेवारी लिएको भए पनि प्रत्यक्ष विदेशी सम्बन्ध पुष्टि गर्ने प्रमाण फेला नपरेको अनुसन्धानकर्ताहरूले बताएका छन्।

आक्रमणमा ५०० भन्दा बढी घाइते भएका थिए र पर्यटन उद्योगमा गम्भीर असर परेको थियो। सन् २०२१ मा अमेरिकी अधिकारीहरूले पाँच अमेरिकी नागरिकको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा तीन श्रीलंकालीमाथि मुद्दा दायर गरेका थिए। श्रीलंकाको उच्च अदालतले दोषी ठहर गरेका २५ संदिग्धमध्ये तीन जना त्यही प्रकरणसँग सम्बन्धित छन्।

सर्वोच्च अदालतले तत्कालीन राष्ट्रपति मैत्रीपाला सिरिसेना र चार वरिष्ठ अधिकारीलाई आक्रमण रोक्न असफल भएको ठहर गर्दै १० लाख तीन हजार डलर जरिवाना गरेको थियो। संयुक्त राष्ट्रसंघले पनि घटनासम्बन्धी अघिल्लो अनुसन्धानका केही गोप्य अंश सार्वजनिक गर्न आग्रह गरेको छ।

पूर्वगुप्तचर प्रमुखको पक्राउसँगै श्रीलंकामा इस्टर बमकाण्डको सत्य बाहिर ल्याउने माग पुनः तीव्र भएको छ। रासस

प्रकाशित: १३ फागुन २०८२ १३:२७ | Wednesday, February 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast