डेरामा बस्ने २४ वर्षीया बबिता सापकोटा आफ्नै कोठाभित्र मृत भेटिइन्, शरीरमा चोटैचोट

हिमाल प्रेस १३ फागुन २०८२ ९:४२ | Wednesday, February 25, 2026
14
SHARES
डेरामा बस्ने २४ वर्षीया बबिता सापकोटा आफ्नै कोठाभित्र मृत भेटिइन्, शरीरमा चोटैचोट

नवलपरासी पूर्व- नवलपरासी पूर्वको गैँडाकोटमा एक युवतीको शव फेला परेको छ। गैँडाकोट नगरपालिका–२ शान्तिनगरमा एक युवतीको शव बाहिरबाट ताला लगाएको बन्द कोठामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार गुल्मी मुसिकोट गाउँपालिका–९ घर भई गैँडाकोट–२ मा डेरा गरी बस्दै आएकी करिब २४ वर्षीया बबिता सापकोटा आफ्नै कोठाभित्र चोटपटक लागेको अवस्था मृत फेलापरेकी हुन्।

बबितासँग सम्पर्क हुन नसकेको भन्दै उनका दाजुले घरबेटीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय गैँडाकोटमा खबर गरिएको थियो। स्थानीय जनप्रतिनिधि, घरबेटी र आफन्तको ताल्चा खोलेर हेर्दा सापकोटा कोठाभित्र खाटमाथि सिरकले छोपिएको अवस्थामा मृत फेलापरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।

‘प्रारम्भिक अनुसन्धानका क्रममा टाउको, घाँटी, दाहिने हातको नाडीमा धारिलो हतियारले काटेको चोट र अनुहारमा निलडाम रहेका छ’, प्रहरी उपरीक्षक खड्काले भने, ‘घटनाको थप अनुसन्धानका लागि प्रदेशस्तरीय अनुसन्धान टोली तथा कुकुरसहितको विशेष टोलीसमेत परिचालन गरेका छौँ।’

उनको तीन वर्षअघि विवाह भएको र एक वर्षअघि सम्बन्धविच्छेद भएको आफन्तले बताएका छन्। उनी हाल डेरामा एक्लै बस्दै आएकी थिइन्।

उनी १० फागुनमा गुल्मीबाट गैँडाकोटस्थित डेरामा फर्किएपछि माइती पक्षसँग सम्पर्कमा नआएको खुलेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए। घटनाबारे अन्य विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ। रासस

प्रकाशित: १३ फागुन २०८२ ९:४२ | Wednesday, February 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast