अर्थमन्त्री पौडेलद्वारा पुँजीगत खर्च बढाउन निर्देशन

हिमाल प्रेस ११ माघ २०७९ १३:०६
2
SHARE
अर्थमन्त्री पौडेलद्वारा पुँजीगत खर्च बढाउन निर्देशन

काठमाडौँ- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन्।

अर्थ मन्त्रालयमा आयोजित देशको समग्र आर्थिक अवस्था र बजेट कार्यान्वयनका सम्बन्धमा छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले पुँजीगत खर्च र राजस्व परिचालनको अवस्था चिन्ताजनक रहेको बताउँदै राजस्व परिचानलमा कडाइका साथ प्रस्तुत हुन र पुँजीगत खर्चलाई विशेष प्राथमिकता दिएर काम गर्न निर्देशन दिएका हुन्।

सरकारको स्रोतबाट खर्च हुने सबै शीर्षकमा छुट्टाइएको रकम सोही शीर्षकमा मात्र खर्च गर्न, चालु प्रकृतिका खर्च निरुत्साहित गर्न, अनिवार्य दायित्व बाहेक कुनै पनि शीर्षकमा थप बजेट माग नगर्न आग्रह गर्दै उनले शोधभर्ना लिने कार्यलाई प्राथमिकता दिन निर्देशन दिए।

यस्तै पुँजीगत खर्च तोकिएको परियोजनामा समयमै सम्पन्न गर्न, स्वीकृत दरबन्दी बाहेकमा कुनै पनि किसिमको दायित्व सिर्जना हुने गरी जनशक्ति व्यवस्था नगर्न पनि मन्त्री पौडेलले निर्देशन दिएका छन्।

असुल उपर गर्ने उल्लेख भएका बेरुजु यथाशीघ्र असुल्न निर्देशन दिँदै अर्थमन्त्री पौडेलले आगामी बजेट निर्माण गर्दा स्थानीय तथा प्रदेश सरकारले सञ्चालन गर्ने स्तरका साना योजना समावेश नगरी अध्ययन पूरा भएका, राष्ट्रिय स्तरमा प्राथमिकतामा परेका, राष्ट्रिय उत्पादनमा योगदान दिने, रोजगारी सिर्जना गर्ने र उच्च प्रतिफल दिने आयोजनाहरुलाई प्राथमकता दिन आग्रह गरे।

वैदेशिक स्रोत परिचालनमा पनि कमजोरीहरु रहेको बताउँदै उनले अनुदान र ऋण परिचालनका लागि अर्थ मन्त्रालयले प्रभावकारी भूमिका निर्वाह गर्ने पनि बताएका छन्।

प्रकाशित: ११ माघ २०७९ १३:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast