त्रिशूली बस दुर्घटना अपडेट : स्याङ्जा घर भएका एक घाइतेको ट्रमा सेन्टरमा निधन

हिमाल प्रेस ११ फागुन २०८२ ९:४७ | Monday, February 23, 2026
16
SHARES
त्रिशूली बस दुर्घटना अपडेट : स्याङ्जा घर भएका एक घाइतेको ट्रमा सेन्टरमा निधन

काठमाडौँ- धादिङमा गए राति भएको बस दुर्घटनापछि उपचाररत घाइतेमध्ये थप एक जनाको काठमाडौंमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा स्याङ्जा घर भएका एक घाइतेले ज्यान गुमाएका हुन् ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस गए राति करिब १ः१५ बजेको समयमा बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा क्षेत्रमा सडकबाट तल खसेर त्रिशूली नदी किनारमा बजारिएको थियो । उक्त बस पृथ्वी यातायात व्यवसायी समितिअन्तर्गत सञ्चालनमा रहेको बताइएको छ ।

दुर्घटनास्थलमै १७ जनाको ज्यान गएको थियो । बसमा सवार ४४ जनामध्ये २७ जनालाई उपचारका लागि काठमाडौंसहित विभिन्न अस्पतालमा पठाइएको थियो भने गम्भीर अवस्थाका घाइतेलाई मलेखु र जिल्ला अस्पतालमा राखिएको थियो। रातिको समयमा उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय र्‍याफ्टिङ व्यवसायीले संयुक्त रूपमा उद्धार अभियान सञ्चालन गरेका थिए । यात्रुलाई डुंगामार्फत करिब एक किलोमिटर तल सारेर त्यहाँबाट उकालो सडकसम्म ल्याइएपछि एम्बुलेन्समार्फत अस्पताल पठाइएको थियो ।

बस सडकबाट तल झरेर त्रिशूली किनारको ढुंगामा ठोक्किँदा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । अँध्यारो रात, अप्ठ्यारो भूगोल र आवश्यक उद्धार सामग्रीको अभावका कारण राहत तथा उद्धार कार्यमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताएका छन् । प्रहरीको टर्चलाइटको भरमा घाइतेको खोजी र उद्धार गरिएको उनले जानकारी दिएका छन् ।

प्रकाशित: ११ फागुन २०८२ ९:४७ | Monday, February 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast