राजसंस्थालाई साथमा लिएर युवा जोस मिलाउन सकेमा विकास टाढा छैन : राप्रपा नेतृ पुष्पा

'राजसंस्था र हिन्दु राष्ट्र हाम्रो पहिचान हो'

हिमाल प्रेस १० फागुन २०८२ १४:५२ | Sunday, February 22, 2026
40
SHARES
राजसंस्थालाई साथमा लिएर युवा जोस मिलाउन सकेमा विकास टाढा छैन : राप्रपा नेतृ पुष्पा

पुष्पा रजौरिया राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की एक प्रभावशाली र सक्रिय महिला नेतृ हुन्। विशेष गरी तराई-मधेशको राजनीतिमा राम्रो पकड राख्ने पुष्पा यतिबेला राप्रपाका तर्फबाट प्रतिनिधिसभाको समानुपातिक सूचीमा छिन्। लुम्बिनी प्रदेश (कृष्णनगर क्षेत्र) लाई केन्द्र बनाएर पार्टीको सांगठनिक विस्तार र महिला अधिकारका मुद्दाहरूलाई सशक्त रूपमा उठाउँदै आएकी रजौरिया स्पष्ट वक्ता र तल्लो तहका कार्यकर्तामाझ लोकप्रिय छिन्। राजनीतिमा युवा र महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्छ भन्ने मान्यता राख्ने उनले राप्रपाको वैचारिक धारलाई जनस्तरसम्म पुर्‍याउन लामो योगदान दिएकी छिन्। यतिबेला मुलुकमा एक ‘मियो’ (अभिभावक) को खाँचो रहेको भन्दै उनले राजाको अभाव महसुस गर्दै नारायणहिटीमा राजा फर्कनुपर्ने तर्क दृढताका साथ राखेकी छन्। आगामी निर्वाचन र समसामयिक मुद्दालाई ध्यानमा राखेर सनातन हिन्दु र राजसंस्थाका पक्षमा वकालत गरिरहेकी पुष्पासँग हिमाल प्रेसले गरेको कुराकानीको सम्पादित अंश :

राप्रपाको समानुपातिक सूचीमा पर्नुभएको छ, अबको निर्वाचनमा तपाईँको मुख्य एजेन्डा र भूमिका के रहनेछ?

मेरा मुख्य एजेन्डा राजसंस्था र सनातन हिन्दु अधिराज्यको पुनर्स्थापना हो। यसका साथै असफल संघीयतालाई खारेज गरी स्थानीय तहलाई थप बलियो र अधिकार सम्पन्न बनाउनु मेरो प्राथमिकता रहनेछ। हामी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले देखाएको राष्ट्रिय एकताको मार्गमा हिँड्नेछौँ। संसद् पुगेपछि यी मुद्दाहरूलाई नीतिगत रूपमा स्थापित गर्न मेरो मुख्य भूमिका रहनेछ।

राप्रपाले अघि सारेको राजसंस्था र हिन्दु राष्ट्रको मुद्दालाई तराई-मधेशका जनताले यसपटक कसरी लिइरहेका छन्?

मधेशका जनता राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा अत्यन्तै सकारात्मक छन्। उनीहरूले अहिले राजसंस्थाको अभाव महसुस गरिरहेका छन्। सोही कारण तराई-मधेशका आमनागरिक राप्रपाका पक्षमा दृढताका साथ उभिएका छन्। उनीहरूलाई थाहा छ कि यो देशको धर्म, संस्कृति र राष्ट्रियता बचाउन राजा र हिन्दु राष्ट्रको विकल्प छैन। त्यसैले अहिले मधेशमा राप्रपाका पक्षमा एउटा ठूलो लहर देखिएको छ।

राजनीतिमा महिलाको संख्यात्मक उपस्थिति त बढ्यो, तर नीति निर्माणको तहमा उनीहरूको पहुँच पुग्न नसक्नुको मुख्य कारण के देख्नुहुन्छ?

यसको मुख्य कारण राजनीतिमा मौलाएको ‘गुटबन्दी र नातावाद’ हो। दलहरूभित्र जबसम्म सक्षम व्यक्तिभन्दा पनि आफ्ना मान्छे र नातागोतालाई प्राथमिकता दिइन्छ, तबसम्म क्षमतावान् महिलाहरू नीति निर्माणको तहमा पुग्न सक्दैनन्। हामीले यस्ता विकृतिविरुद्ध पार्टीकै तहबाट निरन्तर आवाज उठाउँदै आएका छौँ। महिलाको सहभागिता केवल संख्यामा होइन, निर्णय प्रक्रियामा हुनुपर्छ।

यहाँको भेगमा राप्रपाको संगठन पहिलेको तुलनामा कत्तिको बलियो भएको छ? यसपटक कस्तो नतिजाको अपेक्षा छ?

विशेष गरी कपिलवस्तु क्षेत्र नं- ३ हाम्रा लागि निकै बलियो क्षेत्र बनेको छ। यहाँ हामीले प्रदेश सदस्य जितेका छौँ। शिवराज नगरपालिकामा मेयर, वडा अध्यक्ष र सदस्यहरूसहित हाम्रो उपस्थिति राम्रो छ। हाम्रो संगठन तल्लो तहसम्मै सुदृढ भएकाले यसपटकको निर्वाचनमा निकै उत्साहजनक र सुखद नतिजा आउनेमा म पूर्ण विश्वस्त छु। मुलुकभर हाम्रो नतिजा राम्रो आउनेमा हामी ढुक्क छौँ।  हामीले लुम्बिनी प्रदेश कृष्णनगर क्षेत्रलाई विशेष ध्यानमा राख्नुपर्छ। यो बुद्धभूमिलाई हामीले अघि बढाउन सक्नुपर्छ।

समानुपातिक प्रणालीलाई लिएर बेलाबेला आलोचना हुने गर्छ, तपाईँको विचारमा यो प्रणाली कस्तो हुनुपर्छ?

हुन त हाम्रो संविधानमा यो प्रणाली रहेको छ र म यसैबाट सूचफीकृत भएकी छु। तर मेरो व्यक्तिगत विचारमा भन्नुपर्दा यो समानुपातिक निर्वाचन प्रणालीलाई व्यवस्थामा नराख्दा मुलुकका लागि राम्रो हुन्छ। यो प्रणालीले कहिलेकाहीँ वास्तविक नेताभन्दा पनि पहुँचवालालाई मात्र फाइदा पुर्‍याएको देखिन्छ। यसलाई हटाएर प्रत्यक्ष निर्वाचन प्रणालीमै जोड दिनु बढी लोकतान्त्रिक र पारदर्शी हुन्छ।

तपाईँले प्रतिनिधित्व गर्ने समुदाय र क्षेत्रका मुख्य समस्याहरू के हुन्? समाधानका योजना के-के छन्?

मेरा क्षेत्रका मुख्य समस्या र जनताका आधारभूत माग सवल सिँचाइ, गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवा हुन्। किसानले समयमा मल र सिँचाइ नपाउँदा ठूलो मर्का परेको छ। मेरो मुख्य एजेन्डा सिँचाइको उचित व्यवस्थापन, शिक्षामा सुधार र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नु हो। म यसका लागि स्पष्ट योजनाका साथ अघि बढ्नेछु।

राजनीतिप्रति वितृष्णा जागिरहेको समयमा नयाँ पुस्तालाई आकर्षित गर्न तपाईँको के सुझाव छ?

राजनीति देश सेवाको माध्यम हो। नयाँ पुस्ताका युवालाई म के भन्न चाहन्छु भने युवा शक्तिलाई अगाडि बढाउनैपर्छ, तर मुलुक र घरको अभिभावकलाई सधैँ साथमा राख्नुपर्छ। अभिभावकको अनुभव र युवाको जोस मिल्न सकेमा मात्र मुलुक सही दिशामा अघि बढ्छ। हामीले देशको ‘अभिभावक’ का रूपमा राजा र घरको अभिभावकको सम्मान गर्दै अघि बढ्यौँ भने मात्र राजनीतिप्रति आकर्षण र विश्वास पुनर्स्थापित गर्न सकिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast