गुल्मी- १ : भण्डारी र ज्ञवालीबीच ‘हेभिवेट’ भिडन्त, ढकालको प्रवेशले रोमाञ्चक

हिमाल प्रेस ८ फागुन २०८२ १३:३० | Friday, February 20, 2026
24
SHARES
गुल्मी- १ : भण्डारी र ज्ञवालीबीच ‘हेभिवेट’ भिडन्त, ढकालको प्रवेशले रोमाञ्चक

गुल्मी- फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनको नजिकिँदै गर्दा गुल्मी क्षेत्र नम्बर १ मा चुनावी उत्साह बढेको छ। यस क्षेत्रमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी र एमालेका प्रदीप ज्ञवाली राष्ट्रिय राजनीतिमा प्रभाव बनाएका र अनुभवी नेता हुन्।

यसैगरी अर्का उम्मेदवार नेकपाका सुदर्शन बराल नेकपाको प्रदेश राजनीतिमा प्रभावशाली मानिन्छन्। रास्वपाका सागर ढकालले तीनै जनालाई टक्कर दिने आंकलन मतदाताहरूको छ।

त्यसो त यस क्षेत्रमा २०५६ यता भण्डारी र ज्ञवालीले आलोपालो चुनाव जित्दै आएका छन्। भण्डारीले २०७० सालको दास्रो संविधानसभा र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका नेता ज्ञवालीलाई पराजित गरी सहज जित निकाल्न सफल भएका थिए।

ज्ञवाली उक्त क्षेत्रबाट पहिलोपटक २०५६ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। यसैगरी उनी २०६४ सालको संविधानसभा सदस्य र २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए।

२०७९ को निर्वाचनमा कुल ६९ हजार छ सय ८३ मत खसेकामा डा. भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गरेका थिए।

कुन उम्मेदवार कस्ता?

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा थालेका भण्डारी संघको महामन्त्री हुँदै पार्टी राजनीतिको मूल प्रवाहमा होमिएका हुन्।

त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रअन्तर्गत ‘राष्ट्र निर्माणमा भूमण्डलीकरणको प्रभाव’ विषयमा विद्यावारिधि गरेका डा. भण्डारीले पाँच वर्षभन्दा बढी जेल जीवन बिताएका छन्।

कांग्रेसको १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित नेता भण्डारी पार्टीको १४औँ महाधिवेशनमा उपसभापतिको उम्मेदवार थिए।

एमालेका पूर्वउपमहासचिव ज्ञवाली पनि खारिएका नेता हुन्। २०७३ सालमा पर्यटनमन्त्री भएका ज्ञवाली २०७४ सालमा परराष्ट्रमन्त्री भएका थिए।

२०३० सालदेखि कम्युनिस्ट पार्टीमा आबद्ध ज्ञवाली पार्टीको तत्कालीन लुम्बिनी अञ्चल कमिटी सचिव, एमाले केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय कमिटी सदस्य र उपमहासचिवसम्म भएका छन्।

ज्ञवाली गत मंसिरमा सम्पन्न एमालेको महाधिवेशनमा महासचिवमा प्रतिस्पर्धा गर्न इच्छुक थिए। एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्षमा प्रस्ताव गरेपछि उनी केन्द्रीय सदस्यमा सीमित भएका छन्।

अर्का प्रत्यासी सागर ढकाल २०७९ को चुनावमा डडेलधुराबाट चुनाव लडेर कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवालाई टक्कर दिएका व्यक्ति हुन्। पेसाले इन्जिनियर ढकालले नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने अनुमान छ।

यस क्षेत्रका अर्का प्रतिस्पर्धी हुन् नेकपाका सुदर्शन बराल। उनी २०६४ सालमा माओवादीबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए। २०७० को संविधानसभा निर्वाचनमा पराजित भएका उनी २०७४ सालमा लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भई प्रदेश सामाजिक विकास मन्त्री बनेका थिए। २०७९ मा प्रदेशसभा सदस्यमा दोहोरिने उनको चाहना पूरा भएन।

मुख्य प्रतिस्पर्धा भण्डारी, ज्ञवाली र ढकालबीच हुने देखिए पनि राष्ट्रिय राजनीतिमा प्रभावशाली पहिचान बनाएका भण्डारीलाई अन्य उम्मेदवारभन्दा सहज हुने अनुमान छ। यद्यपि एमालेको बलियो संगठन र रास्वपाको युवा लहरले प्रतिस्पर्धालाई निकै रोमाञ्चक बनाएको छ।

क्षेत्र नम्बर १ मा कालिगण्डकी, सत्यवती, रुरु, छत्रकोट, गुल्मी दरबार र चन्द्रकोट गाउँपालिका र रेसुंगा नगरपालिकाका वडा नम्बर ७,८,९,१०,११,१२,१३,१४ पर्दछन्।

निर्वाचन आयोगका अनुसार गुल्मी क्षेत्र नम्बर १ मा एक लाख २२ हजार एक सय ८६ मतदाता छन्। यस निर्वाचन क्षेत्रमा दलका १० र ११ स्वतन्त्र गरी २१ जनाको उम्मेदवारी परेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast