प्रजातन्त्र दिवसमा राष्ट्रियसभा उपाध्यक्षले भनिन् : निर्वाचनबाट तानासाहको जन्म हुन सक्ने खतरा हुन्छ

हिमाल प्रेस ७ फागुन २०८२ ६:४६ | Thursday, February 19, 2026
4
SHARES
प्रजातन्त्र दिवसमा राष्ट्रियसभा उपाध्यक्षले भनिन् : निर्वाचनबाट तानासाहको जन्म हुन सक्ने खतरा हुन्छ

काठमाडौँ- राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले संविधानको मर्म र भावनाबमोजिम राज्यको शासन व्यवस्था सञ्चालन विषयमा ध्यान दिनुपर्नेमा जोड दिएकी छन्। उनले प्रजातन्त्र दिवस–२०८२ का अवसरमा आज नेपालीहरूमा बधाई तथा शुभकामना व्यक्त गर्दै प्रजातन्त्र दिवसले त्यस कार्यमा लाग्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन्।

उपाध्यक्ष घिमिरेले नागरिकका आधारभूत मौलिक हक तथा मानव अधिकारको कार्यान्वयन गर्दै लोकतन्त्रका लाभहरूको समतामूलक र समन्यायिक वितरण गर्नतर्फ हाम्रो ध्यान जानु जरुरी उल्लेख गरेकी छन् । उनले प्रजातन्त्रमा नागरिकले निर्वाचनमार्फत आफ्ना अभिमत व्यक्त गर्ने भएकाले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबाट देशले अझै सुदृढ लोकतन्त्र र जनताको जनजीविकाको सवालमा खरो उत्रन सक्ने नेतृत्व चयन हुने विश्वास व्यक्त गरेकी छन् ।

उपाध्यक्ष घिमिरेले भनिन्, ‘कतिपय अवस्थामा निर्वाचनबाट नै तानासाहको जन्म हुन सक्ने खतरा पनि उत्तिकै रहेको हुन्छ । यस पटक जनताले त्यस्तो अवस्था आउन नदिनतर्फ आफूलाई सतर्क राख्नुपर्छ ।’

उनले १०४ वर्षे लामो निरङ्कुश तथा तानासाही राणा शासनको अन्त्य गरी नेपालमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण पनि गरिन् । लामो सङ्घर्ष, त्याग र बलिदानको फलस्वरूप विसं २००७ फागुन ७ गते राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएसँगै सोही दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । नेपाली जनताको लोकतन्त्रप्रतिको समर्पित भावना र दृढ इच्छा शक्तिकै कारण संविधानमार्फत जनतामा निहित सार्वभौमसत्ता, स्वायत्तता र स्वशासनको अधिकार प्राप्त भएको उपाध्यक्ष घिमिरेले स्मरण गरेकी छन् ।

प्रजातन्त्र प्राप्तिको मार्गदर्शनमा वर्तमान संविधानले समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्पसहित सङ्घीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका जस्ता आधारभूत विशेषतालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको पनि उपाध्यक्ष घिमिरेको भनाइ छ ।

शुभकामना सन्देशमा भनिएको छ, ‘प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लोकतान्त्रिक व्यवहारलाई आत्मसात् गर्ने प्रेरणा सबैमा दिनेछ भन्ने विश्वास व्यक्त गर्दै पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

प्रकाशित: ७ फागुन २०८२ ६:४६ | Thursday, February 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast