काठमाडौँ- आईसीसी टी-२० विश्वकपको मंगलबार जारी खेलमा स्कटल्याण्डले नेपाललाई १७१ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको हो।
मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा स्कटल्याण्डका लागि माइकल जोन्सले ७१, जर्ज मुन्सीले २७, ब्रान्डन म्याकमुलनले २५, रिची बेरिङ्टन (कप्तान) र मार्क वाटले समान १० रन बनाए।
नेपालका लागि सोमपाल कामीले ३, नन्द यादवले २, रोहित पौडेल र कुशल भुर्तेलले समान १/१ विकेट लिए। समूह चरणबाट बाहिरिसकेको नेपालको यो अन्तिम खेल हो।
नेपालले सुरुवाती ३ खेलमा लगातार हार भोगेको थियो। नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो। दोस्रो खेलमा इटालीसँग १० विकेटको फराकिलो हार बेहोर्यो। तेस्रो खेलमा वेस्ट इण्डिजसँग ९ विकेटको हार भोग्यो।
यता स्कटल्यान्ड पनि सुपर ८ को दौडबाट भने बाहिरिसकेको छ। सोमबार दिउँसो भएको खेलमा इंग्ल्यान्डले इटालीलाई २४ रनले हराउँदै सुपर ८ मा पुगेपछि स्कटल्यान्डको सम्भावना पनि सकिएको हो।




