निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान

हिमाल प्रेस ५ फागुन २०८२ १४:१९ | Tuesday, February 17, 2026
6
SHARES
निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान ग्याल्पो ल्होछारका अवसरमा नेपाल शेर्पा संघ संघीय कार्यसमितिले मंगलबार शीतल निवासमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर स्रोत : शीतल निवास

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबैलाई आह्वान गरेका छन्।

ग्याल्पो ल्होछारका अवसरमा नेपाल शेर्पा संघ संघीय कार्यसमितिले मंगलबार शीतल निवासमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै हुने भन्दै फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन सबैलाई आह्वान गरेका हुन्।

उनले नेपालको मौलिक चाडपर्वले आपसी सद्भाव, एकता, मित्रता र भ्रातृत्व अभिवृद्धिमा महत्त्वपूर्ण योगदान दिँदै आएको धारणा राखे। मौलिक नेपाली पहिचानलाई अक्षुण्ण राख्दै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउनु सवैको साझा दायित्व भएको उनले बताए।

यस्तै राष्ट्रपति पौडेलले सुशासनमार्फत् समृद्धिबाट नै मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ सुदृढ हुने उल्लेख गरे। उनले हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संस्कृति रहेको नेपालका विभिन्न जातजातिमध्ये आफ्नै विशिष्ट परम्परा, संस्कृति, सभ्यता र पहिचान रहेको शेर्पा समुदायले नेपाल र नेपालीको शान, गौरव र प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान गरेको बताए।

शताब्दीयौँदेखि नेपालको हिमाली क्षेत्रबाट फैलिएको शेर्पा जाति विश्वभर फैलिएर आफ्नो समुदायको मात्र नभएर नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्नु खुशीको विषय भएको उनले बताए। ग्याल्पो ल्होछार फागुन ६ गते बुधबार मनाइँदैछ।

प्रकाशित: ५ फागुन २०८२ १४:१९ | Tuesday, February 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast