एआईको सहयोगमा तयार पारिएको तस्बिर।
हाम्रा गाउँघरको सामाजिक र सांस्कृतिक संरचना परम्परागत रूपमा सामूहिकता, साझापन र सहअस्तित्वमा आधारित रहँदै आएको छ। प्राविधिक साधनको विकास नभएको उति बेला मनोरञ्जनको स्वरूप सामाजिक सम्बन्धको माध्यम हुने गर्दथ्यो।
त्यस समयमा हेर्ने र सुन्ने प्रक्रिया व्यक्तिगत गतिविधि मात्र थिएन, बरु एउटा सामूहिक अनुभवको उत्सव हुन्थ्यो। अधिकांश ग्रामीण घरमा टेलिभिजन थिएननन्। मोबाइल वा इन्टरनेटजस्ता प्रविधिमा पहुँच त केही दशकअघि मात्रै भएको हो।
पहिलापहिला मनोरञ्जन एउटा साझा सामाजिक घटना हुन्थ्यो, जसले समाजमा सामूहिक भावना र व्यक्ति तथा समूहबीच सन्तुलन कायम राख्न मद्दत गर्दथ्यो। आज संस्कृति उद्योगमा ओटीटी प्लेटफर्महरू (इन्टरनेटमार्फत सीधै फिल्म वा सिरिज पुर्याउने डिजिटल सेवा) मनोरञ्जनभन्दा अगाडि बढेर एउटा पूर्ण व्यवस्था बनिसकेका छन्। त्यसैले संस्कृति समाजबाट स्वतः जन्मने प्रक्रिया रहेन। यो त बजारद्वारा तय हुन थालेको छ। के बन्ने, कसरी बन्ने र कसका लागि बन्ने भन्ने कुरा अब नाफा, दर्शकसंख्या र उपभोक्ताको तथ्यांक (डाटा) ले तय गर्छ।
समाजशास्त्री जिगमन्ट बाउम्यानको तरल आधुनिकताका सन्दर्भमा हेर्ने हो भने ओटीटी संस्कृतिले तत्काल सन्तुष्टि, बदलिँदो रोजाइ र बिन्ज-वाचिङ (एउटा भाग सकिनेबित्तिकै अर्को आफैँ चल्ने) जस्ता बानीको विकास भइरहेको छ। यहाँ मनोरञ्जन सामाजिक सम्बन्धको साटो क्षणिक उपभोगमा परिणत भएको छ।
गाउँको पुरानो दृश्य सम्झने हो भने तस्बिर बिल्कुलै भिन्न देखिन्छ। गाउँका केही घरमा मात्र टीभी हुन्थ्यो; धेरैजसो श्याम-श्वेत (ब्ल्याक एन्ड ह्वाइट) स्क्रिन भएका, जसको माथि एन्टिना हुन्थ्यो र हावा वा मौसमअनुसार दृश्य स्पष्ट वा धमिलो भइरहन्थ्यो। साँझ पर्नेबित्तिकै केटाकेटी, महिला र वृद्धवृद्धामा एउटै उत्साह हुन्थ्यो- आज सिरियल हेर्नु छ।’
टीभी खुल्नेबित्तिकै छिमेकीहरू बिस्तारै त्यही आँगन वा बार्दलीमा जम्मा हुन थाल्थे। भुइँमा बोरा वा चकटी ओछ्याइन्थ्यो। ठाउँ अभाव भएमा कसैले झ्यालबाहिर उभिएर पनि हेर्थे। यो मनोरञ्जन मात्र थिएन, सँगै बस्ने, सँगै हाँस्ने र सँगै प्रतिक्रिया दिने एउटा साझा मञ्चजस्तै थियो। त्यस समयको हेर्ने क्रियाले समाजमा व्यक्ति र समूहबीच एक सहज सन्तुलन बनाउँथ्यो; जुन आजको व्यक्तिगत स्क्रिन संस्कृतिमा बिस्तारै धमिलो हुँदै गइरहेको छ।
आज ओटीटी र स्मार्टफोनले मनोरञ्जनलाई पूर्ण रूपमा व्यक्तिगत बनाइदिएका छन्। त्यसैले त ती पुराना अनुभव मूल्यवान् लाग्छन्। हामीसँग नेटफ्लिक्स, युट्युब, मोबाइल स्क्रिन, दैनिक जीबीका जीबी डाटा र अनगिन्ती विकल्प होलान् तर त्यस समयको सामूहिकता र मानवीय सम्बन्ध आजको कुनै पनि प्रविधिभन्दा ठूलो मनोरञ्जन थियो।
ओटीटीले यो परम्परा बदलिदिएको छ। प्रत्येक व्यक्तिले आफ्नो रुचिअनुसार जुनसुकै समयमा सामग्री हेर्न सक्छ। यस्तो सुविधाले मनोरञ्जनलाई व्यक्तिगत त बनायो, यससँगै पारिवारिक र सामूहिक अनुभवको कमी पनि बढ्दै गयो। गाउँ र सहरका मानिस अब आफ्नै स्क्रिनमा रमाउँछन्, जसका कारण परम्परागत सामूहिकताको स्थान व्यक्तिगत अनुभवले लिएको छ।
एउटा भनाइ छ- ‘मिडिया नै सन्देश हो।’ ओटीटीले दर्शकलाई विश्वव्यापी सामग्रीमा सीधै पहुँच दिएको छ- कोरियन ड्रामा, अमेरिकी वेब सिरिज, युरोपेली डकुमेन्ट्री र स्थानीय सामग्री। यो सांस्कृतिक विविधताको दृष्टिले समृद्ध छ तर स्थानीय सांस्कृतिक प्रथाहरूमा यसको प्रभाव पनि स्पष्ट छ। पहिले आँगनमा जुन सामूहिक भावना साटासाट गरिन्थ्यो अहिले त्यो डिजिटल दुनियाँको निजी कोठामा सीमित भएको छ।
ओटीटीले उपभोगको संस्कृतिलाई प्रश्रय दिन्छ। युवा पुस्ताले आफ्नो रुचिअनुसार सामग्री छनोट गर्छन्, जसले मनोरञ्जनलाई हेर्ने कुरा मात्र नभई पहिचान र जीवनशैलीको अभिव्यक्ति बनाइदिएको छ। यसले आधुनिक समाजमा व्यक्तिगत र सामाजिक दुरी बढाउँछ, किनभने मानिसहरू पारिवारिक संवादभन्दा निजी स्क्रिनमा हराउन थाल्छन्।
ओटीटीको एउटा सकारात्मक पक्ष के हो भने यसले नयाँ प्रकारको डिजिटल सामूहिकताको अवसर दिएको छ। सोसल मिडिया र अनलाइन फोरमका माध्यमबाट मानिस आफ्ना अनुभव साट्छन् र विश्वव्यापी समुदायको हिस्सा बन्छन्।
सामाजिक दृष्टिले ओटीटीको प्रभाव दोहोरो प्रकृतिको छ। एकातिर यसले ज्ञान, विश्वव्यापी दृष्टिकोण र व्यक्तिगत स्वतन्त्रता बढाउँछ भने अर्कोतिर यसले परम्परागत सामूहिक अनुभव र पारिवारिक संवाद कमजोर बनाउँदै लगेको छ। दर्शकको रुचिअनुसार सामग्री सिफारिस गर्नु यसको सबैभन्दा ठूलो आकर्षण हो।
ओटीटीले मनोरञ्जनलाई व्यक्तिगत, सहज र विश्वव्यापी बनाएको छ। यसले मिडिया उद्योगको विस्तार र नयाँ बजारसम्म पुग्ने सम्भावनालाई बढाएको छ। यसरी हेर्दा ओटीटी प्राविधिक परिवर्तन मात्र नभएर समाजको मनोरञ्जन, संस्कृति र व्यवहारलाई नयाँ आकार दिने एक शक्तिशाली माध्यम बनेको छ।




