महाशिवरात्रिमा पशुपतिमा दर्शनार्थी गर्नेको संख्याबारे यो भन्छ क्षेत्र विकास कोष

हिमाल प्रेस ४ फागुन २०८२ ६:३६ | Monday, February 16, 2026
6
SHARES
महाशिवरात्रिमा पशुपतिमा दर्शनार्थी गर्नेको संख्याबारे यो भन्छ क्षेत्र विकास कोष

काठमाडौँ- महाशिवरात्रिका दिन आज राति ९ बजेसम्म कम्तीमा छ लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् ।

आइतबार बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेकामा अहिलेसम्म पनि उस्तै रहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुवास जोशीले लाई जानकारी दिए । उनले भने, ‘९ बजेसम्म कम्तीमा छ लाख बढीले दर्शन गरेका छन् । अहिले पनि दर्शनार्थीको भीड बाक्लो छ । दर्शनार्थीको सङ्ख्या अझै बढ्ने देखिन्छ ।’

यस वर्ष कम्तीमा आठ लाख भक्तजनले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधिलाई सिसी क्यामरा तथा ड्रोनका माध्यमबाट निगरानी गरिएको छ । अवाञ्छित गतिविधि निगरानीका लागि सुरक्षाकर्मीसहितको छुट्टै टोली परिचालन गरिएको विकास कोषका प्रवक्ता जोशीले बताए ।

पशुपति क्षेत्रमा आपत्कालीन उद्धार टोली, दमकल र एम्बुलेन्ससमेत तयारी राखिएको छ । भक्तजनको सहजताका लागि एकैपटकमा नौदेखि दश जनासम्मले दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ । शिवरात्रिका लागि छिमेकी मुलुक भारतबाट साधुसन्त र तीर्थयात्री पशुपति आएका छन् ।

पशुपति पुग्ने भक्तजनका लागि एम्बुलेन्स सेवा, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन भएका छन् ।

वैदिक सनातन हिन्दु धर्मावलम्बी आइतबार बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । आज भगवान् शिवको प्रिय वस्तु मानिने दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन छ ।

यस वर्ष पशुपतिनामा तीन हजारभन्दा बढी साधुसन्त आएको विकास कोषको अनुमान छ । महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरी मूल शिविर रहेको छ भने सशस्त्र प्रहरी बलको नेपाल सुरक्षा कमान्ड पोष्ट पशुपतिक्षेत्र नासल चोकमा छ ।

 

प्रकाशित: ४ फागुन २०८२ ६:३६ | Monday, February 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast