काठमाडौँ- गजलकार कमल संघर्षले गजलसंग्रह ‘हियाका कुडा’ बजारमा ल्याएका छन्। उपत्यकामा कार्यक्रम गर्दै शनिबार पुस्तकको लोकार्पण गरिएको छ।
कार्यक्रममा गजलकार संघर्षसहित गजलकार विवेक ओझा, शीतल कादम्बिनी, पूर्ण रावल र शिखा बुक्सका सञ्चालक पुष्पराज पौडेलले संयुक्त रुपमा कृति लोकार्पण गरे।
पुस्तकमा खस भाषाको प्रयोग गरिएको कवि रावलले बताए। शितल कादम्बिनीले गजलसंग्रह पाठकलाई आकर्षित गर्ने किसिमको रहेको बताइन्। ‘हियाका कुडा पढेपछि मलाई डाहसँगै इख लाग्यो। गजल जति पटक पढ्दा पनि त्यति धेरै पढ्न मन लाग्नेछ,’ उनले भनिन्।
मदन पुरस्कार विजेता विवेक ओझाले हियाका कुडामा पश्चिम नेपालको इतिहासलाई गजलसित जोड्न सफल भएको धारणा राखे। कमल आफ्नो समकालीन रहेको जानकारी दिँदै उनले उनका गजलबाट आफू सधैँ प्रभावित हुने गरेकाे उनले सुनाए।
शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ३ सय ५० रुपैयाँ रहेको छ। लेखक संघर्षको यो तेस्रो कृति हो। यसअघि उनका ‘सडक’ र ‘खुडी’ कृति प्रकाशित छ।




