काठमाडौँ- पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ नेता विश्वबन्धु थापाको निधन भएको छ। राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार थापाको शनिबार साँझ ९८ वर्षको उमेरमा निधन भएको हो ।
शनिबार साँझ ह्याम्स अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। पारिवारिक स्रोतकाअनुसार करिब एक महिनाअघि उनलाई स्ट्रोक भएको थियो। केही सुधार भएपछि उनी घर फर्किएका थिए। तर, केही दिनअघि पुनः स्वास्थ्यमा समस्या देखिएकापछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
२००७ सालदेखि नेपाली राजनीतिमा सक्रिय रहेका थापा पञ्चायतकालका प्रभावशाली नेतामध्येका एक थिए। उनले पञ्चायती व्यवस्थामा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै प्रशासन र नीतिनिर्माण तहमा भूमिका निर्वाह गरेका थिए।
२००७ सालदेखि पछिल्लो समयसम्मका राजनीतिक घटनाक्रमका साक्षी रहेको थापाको निधनले देशले एक इतिहास पुरुष गुमाएको र राप्रपाले आफ्नो अग्रज नेता गुमाएको प्रवक्ता श्रेष्ठले बताएका छन् । राप्रपा निर्माणमा स्वर्गीय थापाको योगदान सदैव आदरपूर्वक स्मरणीय रहने पनि उनले उल्लेख गरे ।
थापा तत्कालीन राजा महेन्द्रले विसं २०१७ साल पुस १ मा जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालालाई हटाई निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि थापा मन्त्री भएका थिए ।




