जसपा नेपालको घोषणा पत्र : संविधानलाई पूर्णता दिएर सर्वस्वीकार्य बनाइने प्रतिबद्धता

हिमाल प्रेस १ फागुन २०८२ १६:०९ | Friday, February 13, 2026
10
SHARES
जसपा नेपालको घोषणा पत्र : संविधानलाई पूर्णता दिएर सर्वस्वीकार्य बनाइने प्रतिबद्धता

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले नेपाली समाजको अर्थ-राजनीतिक रूपान्तरणको खाकासहितको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ।

शुक्रबार काठमाडौँमा कार्यक्रम गर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूले आगामी प्रतिनिधिसभा निर्वाचन केन्द्रित घोषणापत्र सार्वजनिक गरेका हुन्।

विभिन्न आन्दोलनपछि मुलुकमा परिवर्तन भए पनि राज्यको संघीय पुनर्संरचना, शासकीय स्वरूप, समान जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्व, निर्वाचन प्रणाली, न्यायप्रणाली, सामाजिक न्यायको हकलगायत कतिपय विषयहरू त्रुटिपूर्ण रहेको जसपा नेपालले उल्लेख गरेको छ।

सत्ताको बलमा शक्ति आर्जन गर्ने र राजनीतिक अस्थिरता निम्ताउने काममात्रै भएकाले अपूर्ण संविधानलाई पूर्णता दिएर सर्वस्वीकार्य बनाइने जसपा नेपालका अध्यक्ष यादवले बताए।

सहभागितामूलक समावेशी लोकतन्त्र स्थापित गर्ने, सुशासन र सदाचारको माध्यमबाट आर्थिक तथा सामाजिक न्यायसहितको समतामूलक समृद्धि र मानवीय खुसी हासिल गर्ने, समानुपातिक निर्वाचन प्रणाली र समावेशीकरणलाई जोड दिँदै सामाजिक सुरक्षासहितको लोककल्याणकारी राज्य स्थापना गरिने उनले बताए।

उनले राष्ट्रियहितको आधारमा सबै मित्रराष्ट्रहरूसँग सु–सम्बन्ध कायम गर्दै शान्ति, स्थायित्व, आर्थिक विकासको रूपान्तरण र समृद्धिको दिशामा अघि बढ्न द्विपक्षीय वा बहुपक्षीय सम्बन्ध विस्तार गर्नुपर्ने पार्टीको नीति रहेको उल्लेख गरे।

वर्तमान संविधान अपूर्ण रहेकाले संविधान विज्ञहरू सम्मिलित उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठन गरी उक्त आयोगको सुझावको आधारमा संविधान संशोधन/परिमार्जन तथा पुनर्लेखन गर्नुपर्ने आवश्यकता रहेको पार्टीको धारणा रहेको अध्यक्ष यादवले बताए।

जसपा नेपालले वित्तीय क्षेत्र लगायत आवश्यक सबै क्षेत्रहरूलाई व्यवस्थित तथा सुधार गर्ने, युवाहरूलाई स्वदेशमा नै परिचालन गर्ने नीति लिइने, हरेक प्रदेशमा कम्तीमा एउटा अत्याधुनिक वहुबिशिष्टिकृत सेवाप्रदायक अस्पताल स्थापना गरिने जनाएको छ। भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिँदै सुशासनको प्रत्याभूति नागरिकलाई दिलाउन प्रतिबद्ध रहेको समेत जसपा नेपालले जनाएको छ।

प्रकाशित: १ फागुन २०८२ १६:०९ | Friday, February 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast