‘श्री बुकुरो’ को प्रिमियरमा फिल्मकर्मी भन्छन्- पुरानो थाकथलोलाई बचाइराख्नुपर्ने सन्देश छ

हिमाल प्रेस २९ माघ २०८२ १३:०२ | Thursday, February 12, 2026
22
SHARES
‘श्री बुकुरो’ को प्रिमियरमा फिल्मकर्मी भन्छन्- पुरानो थाकथलोलाई बचाइराख्नुपर्ने सन्देश छ

काठमाडौँ- फिल्म ‘श्री बुकुरोः द होम कलिङ’ को उपत्यकामा प्रिमियर गरिएको छ। सिटी सेन्टरस्थित बिग मुभिजमा निर्माण टिमले बुधबार प्रिमियरको आयोजना गरेका थिए।

प्रिमियरमा  निर्देशक तुलसी घिमिरे, दीपकप्रसाद आचार्य, छविराज ओझा, जयकिशन बस्नेतसहित साहित्यकार, चलचित्र पत्रकार र फिल्मका टिम उपस्थित थिए। काव्यिक शैलीमा पारिवारिक कथा समेटेर बनेकाे फिल्म उत्कृष्ठ बनेकाे उनीहरूले प्रतिक्रिया दिए।

फिल्म हेरेपछि निर्देशक तुलसी घिमिरेले समग्रमा फिल्म हिपोक्रटिङ भन्दा पनि एउटा पेन्टिङजस्तो बनेको प्रतिक्रिया दिए। उनले फिल्मले एउटा पैतृक घरलाई बुकुरो शब्दले राम्रोसँग अर्थ्याएको बताए।

‘फिल्म हेरिरहँदा यसले मलाई पुरानो घरमा पुर्‍यायो। लक्ष्मी जीको अभिनयले मेरी आमालाई सम्झेँ,’ उनले भने।

फिल्ममा देखाइएको सानोमा खोलामा खेल्ने, बुढेसकालमा फुपु र भदैको भेट हुनु, लोभी मामाको क्यारेक्टरजस्ता विषयले मन छुने र त्यसले वास्तविकजस्तो बनाउने उनले उल्लेख गरे। आमालाई साथ दिने तिनैजना छोराको भूमिका प्रशंसायोग्य रहेको उनको बुझाई थियो।

फिल्म निर्माता तथा वितरक छविराज ओझाले फिल्मले परिवार जोडिएर रहनुपर्ने सन्देश दिएको धारणा राखे।

त्यस्तै, अभिनेता तथा निर्देशक जयकिशन बस्नेतले फिल्मलाई कुनै उपन्यास पढिरहेजस्तो भान भएको सुनाए। ‘यो फिल्ममा कमेडी पनि छ। पारिवारिक सम्बन्धको कुरा र सबै कलाकारको अभिनय एकदम मन प¥यो। लक्ष्मी दिदीको अभिनय मनमा बस्ने खालको छ। उहाँले यमराजसँग कुरा गरेको, मुक्तिनाथको यात्रा सबै रमाइलो तरिकाको छ,’ उनले भने।

सुदीप भुपाल सिंहको लेखन तथा निर्देशनमा बनेको फिल्म भोलि अर्थात् फागुन १ देखि देशभर प्रदर्शन हुँदैछ।

फिल्म घरसँगै परिवार र समाजको कथामा बनेको छ। पुरानो थाकथलोलाई बचाइराख्नुपर्ने सन्देश दिएको फिल्ममा पारिवारिक सम्बन्ध र प्रेम जीवनमा चिना नमिल्दाको अड्चनलगायतका विषय समेटिएको छ।

फिल्मको मुख्य भूमिकामा वरिष्ठ अभिनेत्री लक्ष्मी गिरी छिन्। उनीसँगै आशीर्वाद बी क्षेत्री, निकिता आचार्य, रोशनी कार्की, उत्तम न्यौपाने, रामबाबु रेग्मी, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माले अभिनय गरेका छन्।

रुबी सेन सिंहले लगानी गरेको फिल्म सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन गरेका हुन्। फिल्म मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौँका विभिन्न स्थानमा छायांकन गरिएको छ।

प्रकाशित: २९ माघ २०८२ १३:०२ | Thursday, February 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast