नेपाल टेलिकमको खुद मुनाफा १२.९८ प्रतिशतले घट्यो

हिमाल प्रेस २९ माघ २०८२ १२:२५ | Thursday, February 12, 2026
8
SHARES
नेपाल टेलिकमको खुद मुनाफा १२.९८ प्रतिशतले घट्यो

काठमाडौँ- नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत (Unaudited) वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको सञ्चालन आय सामान्य रूपमा बढे पनि खुद मुनाफा घटेको देखिएको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म कम्पनीको कुल सञ्चालन आय १७ अर्ब २९ करोड ९७ लाख ३० हजार रुपैयाँ पुगेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको १७ अर्ब ४९ लाख २५ हजार रुपैयाँको तुलनामा २९ करोड ४८ लाख ५ हजार रुपैयाँ (१.७३%) ले बढी हो।

यस्तै, समीक्षा अवधिसम्म कम्पनीको कुल आय १९ अर्ब २२ करोड ७२ लाख ६६ हजार रुपैयाँ रहेको छ जुन गत वर्षको सोही अवधिको १९ अर्ब ५१ करोड ९२ लाख ६६ हजार रुपैयाँको तुलनामा २९ करोड २० लाख रुपैयाँ (१.५%) ले कमी हो।

कम्पनीको EBITDA (Earnings Before Interest, Taxes, Depreciation and Amortization) ९ अर्ब ७७ करोड ७० लाख ६२ हजार रुपैयाँ रहेको छ। यो गत वर्षको सोही अवधिको १० अर्ब ३ लाख ७५ लाख ८९ हजार रुपैयाँको तुलनामा २६ करोड ५ लाख २६ हजार रुपैयाँ (२.६०%) ले घटेको हो।

कर अघिको मुनाफा ५ अर्ब ९१ करोड ४३ लाख रुपैयाँ रहेको छ जुन अघिल्लो वर्षको ६ अर्ब १९ करोड ९० लाख ३८ हजार रुपैयाँको तुलनामा २८ करोड ४७ लाख ३८ हजार रुपैयाँ (४.५९%) ले कम हो।

यसैगरी, खुद मुनाफा ४ अर्ब १६ करोड ४५ लाख ९ हजार रुपैयाँ कायम भएको छ। यो गत वर्षको सोही अवधिको ४ अर्ब ७८ करोड ५९ लाख २५ हजार रुपैयाँको तुलनामा ६२ करोड १४ लाख १५ हजार रुपैयाँ (१२.९८%) ले घटेको हो। कम्पनीको वार्षिकीकृत प्रति सेयर आम्दानी (EPS) ४६.२७ रुपैयाँ रहेको छ।

कम्पनीका अनुसार मुनाफा घट्नुका प्रमुख कारणहरूमा OTT सेवाको बढ्दो प्रयोगका कारण अन्तरआवद्धता आयमा करिब ८ करोड ५ लाख ९८ हजार रुपैयाँ (६.१४%) ले कमी आउनु तथा Voice/SMS सेवामा परेको नकारात्मक प्रभाव प्रमुख छन्।

त्यस्तै, लगानीमा भएको मूल्य परिवर्तन र ब्याजदर घट्दो क्रममा रहनुले व्याज आय करिब ७४ करोड ६३ लाख ८३ हजार रुपैयाँ (३२%) ले घटेको छ।

दुर्गम तथा विकट क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधारका लागि गरिएको लगानीका कारण लागत वृद्धि भएको कम्पनीले जनाएको छ। सेवाको दररेट सम्बन्धी नीतिगत परिवर्तनले दर कटौती हुँदा राजस्वमा उल्लेख्य वृद्धि हुन नसकेको उल्लेख गरिएको छ।

कर्मचारी बीमांक रकम वृद्धि तथा Discount Rate ७.५% बाट ७% मा झारिँदा पेन्सन तथा उपदान खर्च बढेकाले कर्मचारी खर्च समग्रमा ११.५% ले वृद्धि भएको छ।

विदेशी विनिमय दर परिवर्तनका कारण विदेशी मुद्रा सटही नाफा १५०% ले वृद्धि भएको छ भने जिन्सी मौज्दातमा आवश्यक खर्च व्यवस्था थप गर्दा इम्पेयरमेन्ट खर्च १८.३५ करोड रुपैयाँले बढेको छ।

यसैगरी, चालु कर गत वर्षको तुलनामा ५५.५६% ले वृद्धि भएको छ। गत वर्ष विगतको करयोग्य नोक्सानी समायोजन गरिएको कारण चालु कर कम देखिएको कम्पनीले स्पष्ट पारेको छ।

प्रकाशित: २९ माघ २०८२ १२:२५ | Thursday, February 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast