काठमाडौँ- टीकापुर साहित्य महोत्सव २०८२ को तेस्रो संस्करण यही चैत १३ देखि १५ गतेसम्म हुने भएको छ।
टीकापुर साहित्य समाजले पत्रकार सम्मेलन गर्दै महोत्सवको मिति सार्वजनिक गरेको हो। स्थापनाकालदेखि नै महोत्सवको नारा ‘साहित्यमार्फत सामाजिक सद्भाव’ भन्ने राखिएको छ।
आयोजकका अनुसार महोत्सवको तेस्रो संस्करण थारू साहित्य तथा सांस्कृतिक उत्सव विशेष हुनेछ।
नेपालमा विशेषगरी कैलाली, कन्चनपुर, बाँके, बर्दिया र दाङ्देउखुरीमा थारू समुदायको बाहुल्य छ। थारू भाषा, थारू लोक साहित्य तथा संस्कृति नेपालको विशिष्ट मौलिक सांस्कृतिक परम्परा र पहिचान हो।
महोत्सवले थारू साहित्य तथा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्य लिएको टीकापुर साहित्य महोत्सवका संस्थापक संयोजक साहित्यकार महेशविक्रम शाहले बताए।
‘हाम्रा रैथाने भाषा र मौलिक संस्कृतिलाई समुदायको पहिचान र गौरवका रुपमा विकास गर्दै लैजानुपर्छ। यसको महत्वलाई पुस्तान्तरण गर्न साहित्य तथा सांस्कृतिक महोत्सव महत्वपूर्ण माध्यम हुन्,’ संयोजक शाहले भने।
महोत्सव भाषाविद् तथा नेपाली र अन्य ६० भाषाका वर्णमालाका निर्माता माधवप्रसाद पोखरेलको ‘हाम्रो जाति, भाषा र संस्कृति’ शीर्षकमा विद्वत प्रवचनबाट आरम्भ हुनेछ।

२१ बहस सत्रहरू रहने महोत्सवमा प्रत्येक दिन सात बहस सत्रहरू हुने छन्। यसबाहेक महोत्सवमा भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, समाज, राजनीति, विकासलगायत विधाका अध्येता, विज्ञ, अभियन्ता, शोधार्थी र आम नागरिकहरूबीच छलफल हुनेछ।
महोत्सवमा सुदूरपश्चिम प्रदेशका सर्जकहरूका लागि सुदूरपश्चिम कविता महोत्सव रहनेछ। कविता महोत्सवमा प्रथम कवितालाई १५०००, द्वितीयलाई १०००० र तृतीयलाई ५००० रूपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ। सान्त्वनास्वरूप दुईजनालाई प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
आयाेजकले पहिलाे दिन सहभागीहरूलाई महोत्सवको नारा ‘उडेर, गुडेर, तैरिएर टीकापुर’ लाई सार्थकता दिन र टीकापुर भेगको पर्यटन प्रवर्धन गर्न कर्णाली नदीमा जलविहार गराउने छ।
त्यहीँ साँझ ‘थारू सांस्कृतिक साँझ’ पनि हुनेछ। महोत्सव अवधिभर पुस्तक प्रदर्शनीसमेत रहनेछ।



