टी–२० विश्वकप : पाकिस्तानले नखेल्ने घोषणा गरे पनि भारतीय टोली किन जाँदैछ श्रीलंका?

हिमाल प्रेस २३ माघ २०८२ १६:२७ | Friday, February 6, 2026
14
SHARES
टी–२० विश्वकप : पाकिस्तानले नखेल्ने घोषणा गरे पनि भारतीय टोली किन जाँदैछ श्रीलंका? फाइल तस्बिर : क्रिक इन्फो

काठमाडौँ- राजनीतिक तनाव र अनिश्चितताका बीच शनिबारदेखि भारत र श्रीलंकामा आईसीसी मेन्स टी–२० विश्वकप सुरू हुन गइरहेको छ।

बंगलादेशले पहिले नै यो प्रतियोगिता बहिष्कार गरिसकेको छ भने पाकिस्तानले भारतसँग नखेल्ने घोषणा गरेको छ। अन्तर्राष्ट्रि क्रिकेट काउन्सिल (आईसीसी) को नियमअनुसार यदि पाकिस्तानले कुनै खेल खेल्न अस्वीकार गर्छ भने उसले त्यो खेलको अंक गुमाउनुपर्नेछ। अर्कोतर्फ भारतले त्यो खेलका लागि तोकिएको अधिकतम अंक प्राप्त गर्नेछ।

यसैबीच श्रीलंका क्रिकेट बोर्डले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई पत्र लेख्दै भारतसँग नखेल्ने निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरेको छ। श्रीलंकाले यो निर्णयका कारण आफूलाई ठूलो आर्थिक नोक्सानी बेहोर्नुपर्ने बताएको छ।

तर, पाकिस्तानले भारतविरूद्ध नखेल्दा पर्ने असरबारे अझै पनि अनिश्चितता कायमै छ।

पीसीबीलाई श्रीलंकाको पत्र

समाचार एजेन्सी पीटीआईले श्रीलंकाली मिडिया हाउस ‘न्युजवायर’ लाई उद्धृत गर्दै श्रीलंका क्रिकेट बोर्डले पीसीबीलाई पत्र लेखेको जानकारी दिएको छ।

एसएलसी कार्यकारी समितिद्वारा पठाइएको पत्रमा भारतविरूद्ध खेल नखेल्दा हुने नोक्सानीबारे पीसीबीलाई जानकारी गराइएको छ। यसले होटल बुकिङ रद्द हुने, हवाई रिजर्भेसन प्रभावित हुने उल्लेख गरिएको छ। पत्रमा पाकिस्तानले भारतविरूद्ध नखेल्नुको असर श्रीलंका क्रिकेट बोर्डलाई मात्र नभई प्रतियोगितामा संलग्न हरेक ‘स्टेकहोल्डर’ लाई पर्ने बताइएको छ।

पत्रमा एसएलसीले पीसीबीलाई विगतमा कसरी श्रीलंकाले पाकिस्तान क्रिकेटलाई अन्तर्राष्ट्रिय एक्लोपनबाट बाहिर निकाल्न भूमिका खेलेको भन्ने कुरा पनि स्मरण गराएको छ। अन्य क्रिकेट टोलीहरू पाकिस्तान भ्रमण गर्न हिचकिचाइरहेका बेला आफूहरूले पटक–पटक पाकिस्तानको भ्रमण गरेको एसएलसीले जनाएको छ। सन् २००९ मा लाहोरमा श्रीलंकाली टोलीको बसलाई लक्षित गरेर भएको आतंकवादी आक्रमणपछि अन्य टोली पाकिस्तान जान छोडेको समयतर्फ एसएलसीले संकेत गरेको हो।

भारत र पाकिस्तानको पछिल्लो धारणा

प्रतियोगिताअघिको पत्रकार सम्मेलनमा कप्तान सूर्यकुमार यादवले भारतीय टोली १५ फेब्रुअरीको खेलका लागि श्रीलंका जाने बताएका छन्। उनले आफ्नो टोलीलाई खेल नखेल्ने सम्बन्धमा कुनै निर्देशन प्राप्त नभएको पनि बताए।

उनले भने,‘माइन्डसेट क्लियर छ…हामीले खेल्नका लागि अस्वीकार गरेका छैनौँ। उताबाट अस्वीकार गरिएको हो। आईसीसीले फिक्सचर दिएको छ, तटस्थ स्थान तय गरिएको छ। हाम्रो कोलम्बोको फ्लाइट बुक छ। हामी त जाँदैछौँ। बाँकी कुरा पछि हेरिनेछ।’

अर्कोतर्फ पाकिस्तान क्रिकेट टोलीका कप्तान सलमान आगाले भारतसँगको खेल आफ्नो नियन्त्रणमा नभएको बताएका छन्।

पत्रकार सम्मेलनमा उनले भने,‘भारतसँगको खेल हाम्रो नियन्त्रणमा छैन। यो सरकारको निर्णय हो र हामी त्यसको सम्मान गर्छौँ। उहाँहरूले जे भन्नु हुन्छ, हामी त्यही गर्नेछौँ।’

सेमिफाइनमा दुवै टोली आमनेसामने भए सरकारले गरेको निर्णयअनुसार अगाडि बढ्ने उनले बताएका छन्। आगाले भने,‘यदि हामीले उनीहरू (भारत) सँग फेरि सेमिफाइनल वा फाइनलमा खेलनुपर्‍यो भने, हामी फेरि सरकारनजिक जानेछौँ र उहाँहरूको सल्लाहमा अगाडिको कदम चाल्नेछौँ।’

अर्थात समूह चरणपछिका खेलहरूमा पाकिस्तानको अडानलाई लिएर अझै पनि अन्योल कायमै छ।

के छ इतिहास?

क्रिकेटको इतिहासमा यसअघि पनि टोलीहरू प्रतियोगिताका खेलबाट पछि हटेका छन्। सन् १९९६ को विश्वकपमा जसको सहआयोजक भारत, पाकिस्तान र श्रीलंका थिए–अस्ट्रेलिया र वेस्टइन्डिज दुवैले श्रीलंका नजाने निर्णय गरेका थिए।

इंग्ल्यान्डले पनि २००३ को विश्वकप हरारेमा सुरक्षा चिन्ता र सामाजिक अशान्तिको कारण देखाउँदै जिम्बाब्बेविरूद्ध आफ्नो खेल खेल्न अस्वीकार गरेको थियो। यीमध्ये कुनै पनि देशमाथि पछि आईसीसीले जरिवाना लगाएको थिएन, न त सजाय नै दिएको थियो। यद्यपि सबैले आ–आफ्नो अंक गुमाउनुपरेको थियो।

तर, खेलमा सरकारी हस्तक्षेप भएको खण्डमा आईसीसीले पहिले पनि धेरै देशहरूलाई जरिवाना गरिसकेको छ। त्यसैले पाकिस्तान र बंगलादेश दुवैले केही प्रतिबन्धहरूको सामना गर्नुपर्ने हुनसक्छ।

आईसीसीको विधानको अनुच्छेद २.४ मा भनिएको छ,‘क्रिकेट बोर्डले आफ्ना मामिलाहरू स्वायत्त रूपमा सम्हाल्नुपर्छ र क्रिकेटको सञ्चालन, रेगुलेसन वा व्यवस्थापनमा कुनै पनि प्रकारको सरकारी हस्तक्षेप नभएको सुनिश्चित गर्नुपर्छ।’

सन् २०१९ मा जिम्बाब्वे सरकारले क्रिकेट बोर्ड विघटन गरेको थियो, जसका कारण आईसीसीले उसको क्रिकेट बोर्डलाई तीन महिनाका लागि निलम्बन गर्‍यो। यसले गर्दा अनुदान रोकियो र जिम्बाब्वे विश्वकप क्वालिफायर्सबाट बाहिरिनुप¥यो।

यसको चार वर्षपछि खराब प्रदर्शनका कारण श्रीलंका सरकारले क्रिकेट बोर्ड बर्खास्त गर्‍यो। फलस्वरूप श्रीलंकाबाट अन्डर–१९ विश्वकप आयोजना गर्ने अधिकार खोसिएको थियो। पछि दुवै देशको आईसीसी सदस्यता बहाल गरिएको थियो।

पाकिस्तानमाथि के असर पर्ला?

पाकिस्तान सरकारले १५ फेब्रुअरीमा भारतविरूद्ध हुने खेलमा आफ्नो टोली मैदानमा नउत्रिने घोषणा गरेको छ।

नियमअनुसार पाकिस्तानको यो निर्णयले सिधै अंकतालिकामा असर पार्नेछ, जहाँ हरेक खेलको अंकले सेमिफाइनलको बाटो तय गर्दछ। यसबाहेक पाकिस्तानले खेल नखेल्नु र भविष्यमा यस्तो स्थिति दोहोरिने जोखिमका कारण प्रसारण अधिकारसँग सम्बन्धित सम्झौताहरूमा कस्तो असर पर्ला भन्ने प्रश्न पनि उठिरहेको छ।

विशेष गरी भारत र पाकिस्तानको खेल अत्यधिक आम्दानी हुने खेल हो। गत वर्ष च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तानबीचको खेल स्ट्रिमिङ प्लेटफर्म ‘जियो हटस्टार’ मा ६० करोडभन्दा बढी मानिसले हेरेका थिए।

टी–२० विश्वकपको नियमअनुसार ‘यदि कुनै टोलीले हार स्वीकार गर्छ वा म्याच रेफ्रीको रायमा खेल्न अस्वीकार गर्छ भने, त्यो टोलीले खेल हारेको मानिनेछ।’

त्यस्तै खेल खेल्न अस्वीकार गरिएको खण्डमा आईसीसीको आचारसंहिताअन्तर्गत सम्बन्धित टोली र कप्तानमाथि अनुशासनको कारबाही हुनसक्छ। यसले पाकिस्तानमाथि थप जरिवाना लाग्न सक्ने देखिएको छ। यद्यपि यो प्रावधान २०२४ को टी–२० विश्वकपमा पनि थियो। त्यसैले यो नयाँ होइन। भारत तय गरिएको तालिकाअनुसार कोलम्बो जानेछ, अभ्यास गर्नेछ र खेलअघिको पत्रकार सम्मेलन पनि गर्नेछ।

यदि त्यसपछि पनि पाकिस्तानले खेल्न अस्वीकार गरे, खेल ‘फरफिट’ (हारेको) मानिनेछ। भारतलाई दुई अंक दिइनेछ, पाकिस्तानले कुनै अंक पाउने छैन र सबैभन्दा मुख्य कुरा पाकिस्तानको ‘नेट रन रेट’ मा पनि यसले नकारात्मक असर पार्नेछ।

यदि भारत पनि खेलका लागि श्रीलंका नगए खेल रद्द भएको मानिनेछ र दुवै टोलीले एक–एक अंक पाउनेछन्। यद्यपि वर्तमान अवस्थामा यसको सम्भावना निकै कम छ। विश्वकपजस्तो ठूलो प्रतियोगितामा एउट खेलको दुई अंक पनि निकै महत्वपूर्ण हुन्छ र यसको नोक्सानीले पाकिस्तानलाई अन्य टोलीभन्दा पछि धकेलन सक्छ।

समूह चरणमा पाकिस्तानले चार खेल खेल्नुपर्नेछ। जसमध्ये एउटा अर्थात् भारतसँगको खेल नखेल्ने घोषणा गरिसकेको छ। पाकिस्तानले समूह चरणका अन्य खेलहरूमा नेदरल्यान्ड्स, अमेरिका र नामिमिबियासँग खेल्नुपर्नेछ। यी टोलीहरूसँग पाकिस्तानले सहज जित निकाल्ने देखिन्छ। तर, २०२४ को विश्वकपमा पाकिस्तानले अमेरिकासँग हार बेहोरिसकेको छ। यदि यो प्रतियोगितामा पनि अमेरिकाले ठूलो उलटफेर गर्‍यो भने पाकिस्तानका लागि चुनौति हुनसक्छ।

नियमअनुसार खेल बहिष्कार गर्ने टोलीले नै नेट रन रेटमा क्षति बेहोर्नुपर्नेछ। मैदानमा नउत्रिने टोलीको हकमा २० ओभरमा शून्य रन बनाएको मानिनेछ। जबकि अर्को टोलीका लागि नेट रन रेट सामान्य तरिकाले लागू हुनेछ।

प्रकाशित: २३ माघ २०८२ १६:२७ | Friday, February 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast