काठमाडौँ- नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले १५ वर्ष पूरा गरी १६औँ वर्षमा प्रवेश गरेको छ। स्थापना दिवसको अवसरमा संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत आज काठमाडौँको नारायणहिटी परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
२०६६ साल माघमा स्थापना भएको नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले नेपालको पुँजी बजार तथा लगानी व्यवस्थापन क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ। स्थापना कालदेखि नै व्यावसायिकता, सुशासन, पारदर्शिता र ग्राहक केन्द्रित सेवाका माध्यमबाट संस्थागत विश्वास निर्माण गर्न सफल भएको संस्थाले जनाएको छ।
बदलिँदो वित्तीय परिवेशअनुसार आफूलाई निरन्तर परिमार्जन गर्दै संस्थाले दीर्घकालीन योगदान दिने लक्ष्यसहित विभिन्न लगानी तथा परामर्श सेवाहरू प्रदान गर्दै आएको छ।
मर्चेन्ट बैंकिङ अन्तर्गत निष्कासन तथा बिक्री प्रबन्धन सेवा, डिपी सेवा, सेयर रजिस्ट्रार सेवा, सेयर प्रत्याभूति सेवा लगायतका सेवाहरू सञ्चालनमा रहेका छन्।
त्यस्तै, इन्भेस्टमेन्ट बैंकिङ अन्तर्गत लगानी व्यवस्थापन, सामूहिक लगानी कोष तथा संस्थागत परामर्श सेवाहरू पनि प्रदान गरिँदै आएको छ।
यसका अतिरिक्त, संस्थागत परामर्श सेवा अन्तर्गत पुनर्संरचना (Restructuring), मूल्याङ्कन (Valuation), व्यवसायिक योजना (Business Plan), ऋण सिन्डिकेशन (Loan Syndication), सम्पत्ति व्यवस्थापन (Wealth Management), मर्जर तथा एक्विजिसन (Merger and Acquisition) र लगानी परामर्श सेवाहरू समेत उपलब्ध गराइँदै आएको संस्थाले जनाएको छ। निकट भविष्यमै प्राइभेट इक्विटी फन्ड सञ्चालन गर्ने तयारी पनि भइरहेको छ।
१६औँ वर्षको प्रवेशलाई संस्थागत गौरवका रूपमा मनाउँदै नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले आगामी दिनहरूमा पनि नवीन सोच, सुदृढ जोखिम व्यवस्थापन, प्रविधिमैत्री र दिगो लगानी अभ्यासमार्फत नेपाली पुँजी बजारको विकासमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।



