शुल्क घटाउन माग गर्दै अखिल क्रान्तिकारीद्वारा त्रिवि पदाधिकारीको कुर्सीमा अमर्यादित पर्चा

हिमाल प्रेस २३ माघ २०८२ ११:३४ | Friday, February 6, 2026
12
SHARES
शुल्क घटाउन माग गर्दै अखिल क्रान्तिकारीद्वारा त्रिवि पदाधिकारीको कुर्सीमा अमर्यादित पर्चा

काठमाडौँ- अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूको कुर्सीमा आपत्तिजनक शब्द लेखिएका पर्चा टाँसेर विरोध जनाएको छ।

मानविकी संकाय अन्तर्गतका चारवटा कार्यक्रमको शुल्क घटाउनुपर्ने मागसहित आन्दोलनरत संगठनले उपकुलपति प्रा.डा. दीपक अर्याल र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालको कुर्सीमा पर्चा टाँसेको हो।

यसअघि केही दिनअघि शिक्षाध्यक्ष प्रा.डा.खड्ग केसीको कार्यकक्षमा तोडफोडसमेत भएको थियो। तर अखिल क्रान्तिकारीले बिहीबार गरिएको गतिविधिलाई ‘सांकेतिक आन्दोलन’ भन्दै वार्ता र छलफलका लागि पटकपटक आग्रह गर्दा पनि विश्वविद्यालय प्रशासनबाट कुनै पहल नभएको दाबी गरेको छ।

अखिल क्रान्तिकारी त्रिवि अध्यक्ष दिनेश ऐरले सहमतिअनुसार शुल्क समायोजन नगरिएपछि दबाबका लागि आन्दोलन गर्नुपरेको बताए। ‘वार्ता र छलफलका लागि कुर्‍यौँ तर प्रशासनले कुनै पहल गरेन। अहिले सांकेतिक आन्दोलन गरेका हौँ,’ उनले भने।

त्रिवि प्रशासनका अधिकारीहरूले विद्यार्थी संगठनले पदाधिकारीमाथि दुर्व्यवहार गरेको आरोप लगाएका छन्। त्रिवि केन्द्रीय कार्यालयका एक अधिकारीले भने, ‘पदाधिकारीको कार्यकक्षमा आएर जथाभावी लेखेर जानु दुर्व्यवहार हो।’

मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य तथा द्वन्द्व, शान्ति तथा विकास अध्ययन कार्यक्रमलाई केन्द्रीय विभागमा ल्याउँदा सहमतिअनुसार शुल्क समायोजन नभएको संगठनको भनाइ छ। विश्वविद्यालय प्रशासनले भने शुल्क पुनरावलोकनका लागि कार्यदल गठन भइसकेको जनाएको छ।

प्रकाशित: २३ माघ २०८२ ११:३४ | Friday, February 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast