घुम्टोभित्रको विद्रोह र बन्द कोठाको कथा ‘बहुरिया’

सुस्मिता बजगाईं २२ माघ २०८२ १८:१३ | Thursday, February 5, 2026
38
SHARES
घुम्टोभित्रको विद्रोह र बन्द कोठाको कथा ‘बहुरिया’

काठमाडौँ- मधेशमा बुहारीलाई ‘बहुरिया’ भनिन्छ। यही शीर्षकमा सुरज यादवले नाटक ‘बहुरिया’ लेखेर थिएटरमा मञ्चन गरेका छन्।

सुरजले आफ्नै भूगोलको कथालाई राजधानीमा ल्याएर आम दर्शकमाझ कथा भनिरहेका छन्। यो नै ‘बहुरिया’ नाटकको सकारात्मक पक्ष हो। नाटक थापागाउँस्थित मण्डला थिएटरमा मञ्चनरत छ।

शीर्षकअनुसार नाटक तराई/मधेशकै परिवेशमा निर्माण गरिएको छ। दर्शकलाई ध्यानाकर्षित गर्न उनले मधेशी लवज भएका पात्र मञ्चमा उभ्याएका छन्, जसमा संवाद नेपाली भाषामा प्रयोग गरिएको छ।

नाटकले विवाहपछि आफ्नो सबै सपना, रहर त्यागेर घरायसी कामले पिँजडामा थुनिएका महिलाहरूको कथा प्रस्तुत गरेको छ। दुई जना दम्पती एक अर्काको स्वतन्त्रताको कुरा गरिरहन्छन्। पात्र छन् निर्देशक सुरज यादव र प्रशंसा शिवाकोटी। उनीहरू रामचरण र सीताको भूमिकामा छन्।

राम विवाहकै रात घरबाट भाग्छ, कारण हो- ऊ आफूले चाहेको र सोचेको लक्ष्यसम्म पुग्न सकोस्। लेखक रामचरण ऊ संसारभर घुमेर संसारकै बारेमा कथा लेख्ने योजनामा भौँतारिरहेको छ। विवाह त उसले बुबाको करकापमा गरेको थियो। उही पतिलाई घरमा कुरेर बसेकी सीता घरायसी काममै समय व्यतीत गरिरहेकी हुन्छिन्। त्यस बाहेक उनले सिलाइबुनाइको काम सिकेकी छन्।

एकदिन राम अचानक घरमा आइपुग्छ। र, उसलाई सीताले बाँधेर राख्छिन्। काम विशेषले घर आएको राम पत्नीको जालमा परेपछि उम्किन खोज्छ। अनि सीता प्रश्न गर्छिन्,  ‘तिमीलाई एकछिन बाँधिँदा यस्तो सकस भयो भने म ४ वर्षदेखि बाँधिँदा मलाई कस्तो भयो होला?’  सीता आफू पनि स्वतन्त्र खोजिरहेकी छे। तर समाजको डरले सकिरहेकी छैन।

के उनीहरू एक अर्काको सपना पूरा गर्न सम्बन्धबाट छुट्कारा पाउलान्? वा समाजको बन्धन, संरचना, पुरुषत्वको अहमताजस्ता बन्द घेराबाट मुक्त हुन्छन्त यिनै प्रश्नको सामना गर्दै नाटक सकिन्छ।

नाटकको कथा महिलाको पक्षबाट लेखिएको छ। सरसर्ती हेर्दा नाटकको कथा सामान्य लाग्छ। हामीले समाजमा देखिरहेकै कथा लाग्छ। पति र पत्नीबीचको भलाकुसारीजस्तो देखिन्छ।

एक घण्टासम्म उनीहरूको भलाकुसारीले वैवाहिक सम्बन्धभित्र लुकेको पीडा, पुरुषवादी समाज, व्यक्तिमा हुने अहंकार, नारी अस्तित्व र स्वतन्त्रताको कुरालाई समेट्छ।

नाटकमा सीता एक सहनशील महिला हुन् तर पतिसँगको वार्तालापमा उनी आफ्नो पीडालाई उजागर गर्दै अस्तित्व खोज्छिन्। रातो साडी र घुम्टोभित्र सजिएकी सीता ‘मैले पाउनुपर्ने कुरा पाउनुपर्छ, बाँकी दुनियाँदारी कुरा मेरो समजमा आउँदैन’ भन्दै पुरुषवादी समाजप्रति प्रश्न गर्छिन्। रामचरणले ‘बाहिर ठूलो संसार छ, तिमी बन्द कोठाबाट निस्केऊ’ भन्दा उनी ‘बाहिर समाजबिनाको संसार छ?’ भन्दै प्रश्न गर्छिन्।

महिलाको संरचना ऊ स्वयं होइन, समाजको संरचनाभित्र हुन्छ। पुरूषझैँ स्वतन्त्र हुँदैन भन्ने उनको तर्क हुन्छ।

त्यस्तै, रामचरण नेपाली समाजकै पुरूष पात्रको प्रतिनिधि बनेको छ। ऊ आफूलाई ढोँगी पुरूष होइन पनि भन्छ तर महिलामाथि भइरहेको अन्याय, उनीहरूको अस्तित्व र अधिकारविरुद्ध जान सक्दैन। ऊ परम्परावादी समाजको पुरुषवादमै अड्केको छ। यद्यपि बाहिर पनि संसार छ। जे मन लाग्छ गर भन्दै महिलालाई घचघच्याइरहेको हुन्छ। समाजको जालभित्र महिला जेलिँदै गइरहेको भन्दै उसलाई कठपुतली नबन्न आग्रह गर्ने आदर्श पात्र पनि बनेको छ।

विशेष गरी तराई परिवेशमा दाइजोका लागि अभिभावकले छोराको इच्छाविपरीत विवाह गरिदिने प्रवृत्तिलाई पनि नाटकले उजागर गरेको छ। रामको विवाह उसको बुबाले दाइजोकै लागि गरिएको प्रसंगले यसलाई पुष्टि गर्छ।

रामचरण र सीता यसको प्रतिनिधि पात्रमात्र हुन्, तराईमा अझै पनि दाइजोका लागि विभिन्न अपराधहरू भइरहेका छन्। बदलिँदो परिवेशमा पनि अझै महिलाहरू त्यो परिवेशबाट गुज्रिरहेका छन्, जो आफ्नो हकअधिकारका लागि लड्न सकिरहेका हुँदैनन्। यसलाई चिर्नुपर्छ भन्ने मूलभाव नाटकले बोकेको छ।

नाटकका संवाद केही रमाइलो हुँदै समाजको तीतो यथार्थतिर ढल्केको छ। ‘तिमीहरूले तोकिदिएको समयमा चल्ने मान्छे होइन म’, ‘आहाँ के इच्छा इच्छा, हम्मर इच्छा कि त भिक्षा’, ‘सबैले आ-आफ्नो बाटो रोज्नुपर्छ’, ‘यो बन्द कोठाबाट बाहिर निस्क, बाहिर ठूलो संसार छ’, ‘बाहिर पनि समाज छ’, ‘तिमीहरू सब एउटै हो, सब लागिपरेछौँ एउटा मान्छेको जिन्दगी बर्बाद गर्न’, ‘यो समाजको सोचभित्र म अटाउँदिनँ’, ‘यो समाजको जालभित्र तिमी जेलिँदै छौ, जति जेलिन्छौँ त्यति निस्किन गाह्रो हुन्छ’ जस्ता संवाद गहकिला छन्। यद्यपि नाटकको केही संवादहरूले दर्शकलाई अल्मल्याउन सक्छ।

नाटकका लागि बनाइएको मञ्चले पनि नाटकले भन्न खोजेको महिलाको कथालाई थप मजबुत बनाएको छ। हलको पुरै मञ्च एउटा बन्द कोठा बनाइएको छ। दुई कुनामा सेतो फूलले सजाइएको छ, जुन घरको प्रवेशद्वार जस्तो देखिन्छ। तर ती ढोका प्रयोगमा आएका छैनन्। मञ्चलाई आकर्षित गर्ने संरचना बनाइएका छन्।

कोठाभित्र चारैतिर डोरी झुन्ड्याइएको छ, जसमा विवाहको पहिरनमा सजिएका महिला र पुरुषको कठपुलती झुन्डिराखेका छन्। बिम्बात्मकरूपमा निर्देशकले यसलाई पुरुषको कठपुतली बनिरहेका आम महिलाको प्रतिनिधि पात्रको रूपमा संकेत गरेका छन्। कोठामा बाहिर निस्किने ढोका पनि बन्द नै छ। त्यस्तै अँध्यारो देखाउन मञ्चमा प्रयोग गरिएको प्रकाशको मधुरोपनले पनि पात्रको मानसिकता अभिव्यक्त गरिरहेको छ।

त्यस्तै, कोठामा सजाएर राखिएको दराज, सिलाई मेसिन, खाट, टेबुल, वरिपरि भुनभुनाइरहेको लामखुट्टेको ध्वनि, जुन नाटकलाई बाँध्ने अन्य संरचनाहरू हुन्। यसका साथै सुरज र प्रशंसाको कथाअनुसारको जीवन्त अभिनयका बीच बीचमा बज्ने गीत, तराईवासीको विवाह गर्ने शैलीलगायत प्रसंगले पनि कथालाई यथार्थ बनाउन थप मद्दत गरेको छ।

समग्रमा नाटकले महिलाको मनोविज्ञानलाई सशक्त ढंगले उठाएको छ। जुन सीताले पतिको लागि गरेको प्रतीक्षा, मनभित्र ऊ प्रति पालेको भ्रम, पतिको लागि अन्तिममा त्याग र समर्पणले पुष्टि गरेको छ। तराईको परिवेशमा यसरी महिलाको कथा प्रस्तुत हुनु नेपाली रंगमञ्चको एक सशक्त पाटो हो।

प्रकाशित: २२ माघ २०८२ १८:१३ | Thursday, February 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast