चितवनका ६ हजार बढी बालिकाहरूलाई एचपीभी खोप लगाइने

हिमाल प्रेस २१ माघ २०८२ १५:४९ | Wednesday, February 4, 2026
2
SHARE
चितवनका ६ हजार बढी बालिकाहरूलाई एचपीभी खोप लगाइने फाइल तस्बिर।

चितवन- जिल्लाका ६ हजार ७६८ बालिकाहरूलाई पाठेघरको मुखमा हुने क्यान्सर हुन नदिने भ्याक्सिन एचपीभी खोप लगाइने भएको छ। यहाँका ७२५ वटा विद्यालय र ११४ स्वास्थ्य केन्द्रबाट ती बालिकाहरुलाई खोप दिन लागिएको हो।

जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार खोपका लागि आवश्यक भ्याक्सिन आइसकेको छ। उनले भने, ‘खोप लगाउनका लागि आवश्यक सात हजार भ्याक्सिन आइसकेको छ।’

१० देखि १४ वर्षका बालिकाहरूलाई यो खोप दिन लागिएको हो। कक्षा ७ देखि १० कक्षासम्मका किशोरी र विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई ती खोप केन्द्रबाट खोप दिइने उनले बताए। माघ २५ गतेदेखि फागुन १ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको उनले जानकारी दिए।

पाठेघरको मुखमा हुने क्यान्सर हुन नदिने भ्याक्सिन एचपीभी खोपका लागि चितवनमा बाहिरी खोप केन्द्र सञ्चालन गर्न आवश्यक नरहेको उनले बताए। खोप लगाउने अभियानको तयारीका सम्बन्धमा आज (बुधबार) आयोजित जिल्लास्तरीय खोप समन्वय समितिको बैठकले चितवनमा बाह्य खोप केन्द्र आवश्यक नभएको निष्कर्ष निकालिएको हो।

घिमिरेका अनुसार जिल्लामा रहेका सबै स्थानीय तहको वडास्तरमै खोप केन्द्र भएकाले बाह्य केन्द्र आवश्यक नभएको हो। उनले भने, ‘हामीसँग आफ्नै खोप केन्द्र छन्। हरेक विद्यालयमा गएर खोप दिने योजना छ। जिल्लामा बाह्य खोप केन्द्र आवश्यक छैन।’ अभियानमा ३२५ खोप कार्यकर्ता र ३२५ स्वयंसेवक परिचालन गरिने छ।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी र बकुलर अस्पतालका प्रमुख डा. अंकित पौडेलले नेपालमा पाठेघरको क्यान्सरका कारण मृत्यु हुने महिलाको सङ्ख्या बढ्दै गएको अवस्थामा यो खोप अनिवार्य रहेको बताए। यस अभियानलाई सफल बनाउन सबैको हातेमालो आवश्यक रहेको उनीहरूले बताए। रासस

प्रकाशित: २१ माघ २०८२ १५:४९ | Wednesday, February 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast