काठमाडौँ- नेकपा एमालेका नेता तथा काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधिसभा उम्मेदवार ईश्वर पोखरेलले यस पटकको निर्वाचन सामान्य चुनाव मात्र नभई देशको भविष्य तय गर्ने ‘ठूलो जनमतसंग्रह’ भएको धारणा व्यक्त गरेका छन्।
उनले देश बनाउने शक्तिहरू र देशलाई अस्थिरता तथा विघटनतर्फ लैजान खोज्ने शक्तिहरूबीच निर्णायक लडाइँ भइरहेको उल्लेख गर्दै यो निर्वाचनमा देश बनाउने पक्षले जित्नै पर्ने र देश जलाउने पक्षले हार्नै पर्ने बताए। ‘यो सवाल नेकपा एमाले वा ईश्वर पोखरेलको मात्र होइन, सवाल देशको हो,’ उनले भने, ‘देश बनाउने कि जलाउने भन्ने यो लडाइँमा हामीले जित्नुपर्छ।’
नेता पोखरेलले आफू सधैँ राष्ट्रिय हित, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गरे। उनले जनतालाई बचन दिँदै देशको अहित हुने कुनै पनि कार्य आफूबाट नहुने स्पष्ट पारे। उनले जातीय तथा सामाजिक सद्भाव नेपालको आधार भएको उल्लेख गर्दै जातीय सद्भाव खलबलिन नदिनुपर्नेमा जोड दिए। ‘यदि जातीय सद्भाव बिग्रियो भने देश रहँदैन, देश रहेन भने हामी पनि रहँदैनौँ,’ उनले भने।
जातीय सद्भाव नेकपा एमालेले उठाएको झण्डा भएको बताउँदै उनले त्यो झण्डा कहिल्यै झुक्न नदिने प्रतिवद्धता जनाए। नेता पोखरेलले एमालेले सुरु गरेको विकास अभियानलाई कमजोर पार्ने षड्यन्त्र भएको आरोप लगाउँदै पार्टीले विकासको अभियान पुनः मजबुत रूपमा अघि बढाउने बताए।



