नयाँ दिल्ली- बलिउडको चर्चित कमेडी फ्रेन्चाइज ‘गोलमाल’ आफ्नो पाँचौँ भागसहित दर्शकमाझ आउँदैछ। यसपटक ठूलो ट्विस्ट देख्न पाइने भएको छ।
‘गोलमाल ५’ मा अक्षय कुमार मुख्य खलनायकको भूमिकामा इन्ट्री गरेका छन्। मुख्य कलाकारमा अजय देवगन फेरि पनि फ्रेन्चाइजको प्रमुख पात्रका रूपमा देखिनेछन्।
अरशद वारसी, तुषार कपूर, कुणाल खेमु र श्रेयस तलपडे पनि पुनः फर्किने निश्चित भएको छ। यसबाहेक जोनी लिभर, सञ्जय मिश्र, मुकेश तिवारी र अश्विनी कलसेकरजस्ता अनुभवी कलाकारहरू पनि कलाकार सूचीमा समावेश छन्।
शर्मन जोशीको पुनरागमनको सम्भावना छ भने करिना कपूर खानको उपस्थितिबारे अहिलेसम्म अन्तिम निर्णय भएको छैन।
‘गोलमाल ५’ मा अक्षय कुमारलाई खलनायकको भूमिकामा प्रस्तुत गर्नु यस फ्रेन्चाइजका लागि ठूलो परिवर्तन मानिएको छ। किन भने यसअघि यो शृंखलामा मुख्य रूपमा हल्काफुल्का कमेडीमै ध्यान केन्द्रित गरिएको थियो।
भेराइटी इन्डियाको रिपोर्टअनुसार फिल्ममा परम्परागत ह्युमरसँगै केही फ्यान्टेसी एलिमेन्ट्स पनि समावेश गरिनेछ।
फिल्मको छायांकन फेब्रुअरीको अन्त्यतिर मुम्बईको फिल्म सिटीमा सुरु हुने छ र २०२७ को सुरुवातमा रिलिज गर्ने लक्ष्य राखिएको छ।
यो पाँचौँ भाग ‘गोलमाल’ फ्रेन्चाइजको २० वर्ष पूरा भएको अवसरमा पनि विशेष मानिन्छ। किनकि पहिलो फिल्म सन् २००६ मा रिलिज भएको थियो र त्यसपछि यो शृंखलाले देशभर ठूलो सफलता हासिल गरेको छ।
बलिउडमा अक्षय कुमार र अजय देवगनको अनस्क्रिन जोडी यसअघि पनि ‘सुहाग’, ‘खाकी’, ‘इंसान’, ‘सूर्यवंशी’ र ‘सिंघम अगेन’ जस्ता फिल्महरूमा देखिइसकेको छ। तर ‘गोलमाल ५’ मा उनीहरू आमनेसामने देखिनु दर्शकका लागि नयाँ सरप्राइज हुने निश्चित छ।



