काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचन देशको अस्तित्व, अस्मिता र स्वाधीनता रक्षाका दृष्टिले सर्वाधिक महत्वको निर्वाचन भएको बताएका छन्। त्यस अर्थमा यो निर्वाचन सामान्य निर्वाचन नभएको स्पष्ट गर्दै पार्टीको निर्वाचन परिचालन कमिटीका संयोजक समेत रहेका उपाध्यक्ष ‘बादल’ले आगामी निर्वाचन देशभक्त र देशद्रोहीहरूबीचको संघर्ष भएको बताए।
प्रवासी नेपाली संघ, भारतको केन्द्रीय समितिको सातौं बैठकलाई आज पार्टी केन्द्रीय कार्यालय, च्यासलबाट भर्चुअल सम्बोधन गर्दै उनले आगामी निर्वाचनलाई देश जलाउने र देश बनाउनेहरू बीचको भीषण संघर्षका रूपमा बुझ्नुपर्ने बताए।
उपाध्यक्ष बादलले नेकपा एमाले देश बनाउने देशभक्त पार्टी भएको बताउँदै यो निर्वाचनमा एमालेले जित्नैपर्ने धारणा राखे। नेकपा एमालेको लक्ष्य आगामी निर्वाचनबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा लोकतान्त्रिक सरकारको पुनर्स्थापना गर्ने रहेको जानकारी गराउँदै बाह्य हस्तक्षेपविरूद्ध प्रतिरोधको संघर्ष सफल बनाउन प्रवासमा रहेका नेपालीहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।
उपाध्यक्ष बादलले नेपाललाई ‘युक्रेन’ बनाउने योजना अन्तर्गत भदौ २३ र २४ गतेको विश्वंशात्मक घटना गराइएको र त्यसको दोस्रो प्रयास निर्वाचनबाट ‘जेलेनेस्की’ जन्माउने रहेको बताउँदै आगामी निर्वाचनमा देशभक्त, लोकतान्त्रिक शक्तिले जित्नु आवश्यक रहेकोमा जोड दिए। गत भदौको घटनाबाट लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था, राष्ट्रिय स्वाधीनता अपदस्थ र नागरिक सरकार विघटन गरी असंवैधानिक कठपुतली सरकार गठन गरिएको स्मरण गराउँदै निर्वाचनबाट लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको पुनर्स्थापना गर्नुपर्ने चुनौती रहेको उहाँले बताए।
उपाध्यक्ष बादलले देश असाधारण संकटबाट गुज्रिरहेको बताउँदै प्रतिक्रान्ति र प्रतिगमनलाई परास्त गर्न नेकपा एमालेले बहुमतका साथ विजय प्राप्त गर्नैपर्ने धारणा राखे। सिंहदरबार जलाउने देशद्रोहीहरू नेपाललाई ‘युक्रेन’ बनाउन चाहन्छन् भन्दै उनले निर्वाचनमा अधिकतम निर्वाचन क्षेत्रमा एमालेलाई विजयी बनाउन प्रवासमा रहेका नेपालीहरूको भूमिका महत्वपूर्ण हुने बताए।
भदौ २३ र २४ गतेको विध्वंशलाई सही ढंगले बुझ्न आग्रह गर्दै उपाध्यक्ष बादलले देशको अस्तित्वसँग जोडिएको आगामी निर्वाचनलाई देशभक्तहरूले जीवन– मरणको संघर्षका रूपमा लिनुपर्ने बताए।
नेकपा एमाले राष्ट्रियता, स्वाधीनताको रक्षा गर्ने र देश निर्माण गर्ने पार्टी हो भन्ने विगतमा सरकारमा रहेको समयका कामबाट पुष्टि भएको स्मरण गराउँदै आगामी निर्वाचनबाट पार्टीलाई बहुमतका साथ विजयी बनाई देश निर्माणमा नेतृत्व गर्न सफल हुने विश्वास उनले व्यक्त गरे।
उपाध्यक्ष बादलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा निर्वाचन घोषणापत्रको तयारी भइरहेको र घोषणापत्रमा समावेश गरिने विभिन्न विषयहरूका बारेमा पनि संक्षेपमा जानकारी गराएका थिए।



