टी–२० विश्वकपमा भारतविरूद्धको खेल बहिष्कार गर्ने पाकिस्तानको घोषणा

हिमाल प्रेस १८ माघ २०८२ २१:४१ | Sunday, February 1, 2026
30
SHARES
टी–२० विश्वकपमा भारतविरूद्धको खेल बहिष्कार गर्ने पाकिस्तानको घोषणा

काठमाडौँ- पाकिस्तानले टी–२० विश्वकपअन्तर्गत फेब्रुअरी १५ मा भारतविरूद्ध हुने खेल बहिष्कार गर्ने घोषणा गरेको छ। फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रुपमा टी–२० विश्वकप सुरू हुँदैछ।

पाकिस्तान सरकारले सामाजिक सञ्जाल एक्समा लेखेको छ,‘पाकिस्तान सरकारले पाकिस्तान क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप मा सहभागी हुन अनुमति दिएको छ। यद्यपि पाकिस्तान क्रिकेट टोली १५ फेब्रुअरी मा भारतविरूद्ध तय गरिएको खेलमा मैदानमा उत्रिने छैन।’

पाकिस्तान क्रिकेट टोलीलाई भारतविरूद्ध खेल्न अनुमति नदिनेबारे विचार भइरहेको भनिएको बेला पाकिस्तान सरकारको यो बयान आएको हो।

गत साता पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नकवीले प्रधानमन्त्री शहबाज शरीफसँग भेटपछि भनेका थिए,‘प्रधानमन्त्रीले सबै विकल्पहरुमा विचार गरेरमात्र निर्णय लिन निर्देशन दिनुभएको छ।’

पाकिस्तानले गरेको थियो बंगलादेशको समर्थन

बंगलादेशले सुरक्षा कारण देखाउँदै भारतमा टी–२० विश्वपकका खेलहरू खेल्न अस्वीकार गरेपछि उसको स्थानमा स्कटल्यान्डलाई समावेश गरिएको छ।

पीसीबी अध्यक्ष नकवीले आईसीसीको यो निर्णयलाई गलत र दोहोरो मापदण्ड भनेका थिए।

उनले भनेका थिए,‘बंगलादेशमा पनि त्यही नियम लागू हुनुपर्छ जुन अरु कसैलाई लागू हुन्छ। यदि कुनै देशले सुरक्षा कारणले अर्को देशमा खेल्न अस्वीकार गर्छ भने, बंगलादेशलाई पनि त्यो अधिकार हुनुपर्छ।’

फाइनल भारत–पाकिस्तानबीच भयो भने के होला?

पाकिस्तानको यो घोषणापछि सामाजिक सञ्जालहरूमा धेरै प्रतिक्रियाहरू आइरहेका छन्। क्रिकेट कमेन्टेटर हर्षा भोगलले यो निर्णयमाथि आफ्नो प्रतिक्रिया दिएका छन्।

उनले लेखेका छन्,‘यदि पाकिस्तान विश्वकपमा जान्छ तर भारतविरूद्ध खेल्दैन भने आईसीसीको प्रतिक्रिया हेर्नु निकै रोचक हुनेछ। मलाई यसको कानुनी स्थिति थाहा छैन, न त यो कुरा थाहा छ कि विगतका उदारहणको आधारमा यो मामिला कसरी सल्टिेनछ। तर यदि आईसीसीले प्रसारणकर्ताको घाटा पूर्ति गर्न पाकिस्तानको आईसीसी राजस्व हिस्साबाट काट्न भन्यो भनेलाई अचम्म लाग्ने छैन, र, यदि फाइनल नै भारत र पाकिस्ताबीच भयो भने के होला?’

त्यस्तै वरिष्ठ पत्रकार राजदीप सरदेसाईले लेखेका छन्,‘ठूलो खबर ः पाकिस्तानले टी–२० विश्वकपमा भारतविरूद्ध नखेल्ने बताएको छ। मेरो विचारमा यसका लागि आईसीसीले पाकिस्तानविरुद्ध कारबाही हुनुपर्छ। बंगलादेशसँग असन्तुष्ट हुने केही कारणहरु थिए, तर पाकिस्तानले पहिल नै हाइब्रिड मोडमा सहमति जनाइसकेको थियो। अब पछि हट्नुको कुनै कारण छैन।’

टी–२० विश्वकपमा भारत र पाकिस्तान आठपटक आमनेसामने भएका छन्। पाकिस्तानले एक खेलमा जित हात पारेको छ भने बाँकी सात खेलमा भारत विजयी भएको छ।

त्यस्तै एकदिवसीय विश्वपकमा पनि दुवै टोलीबीच आठपटक प्रतिस्पर्धा भएको छ। ती सबै आठवटै खेलमा पाकिस्तानले हार बेहोर्नुपरेको छ।

प्रकाशित: १८ माघ २०८२ २१:४१ | Sunday, February 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast