डा. हेमसागर बराललाई हेम-गंगा पन्छी अनुसन्धान तथा संरक्षण सम्मान

हिमाल प्रेस १८ माघ २०८२ १८:३५ | Sunday, February 1, 2026
206
SHARES
डा. हेमसागर बराललाई हेम-गंगा पन्छी अनुसन्धान तथा संरक्षण सम्मान

काठमाडौँ- वरिष्ठ पन्छी तथा वन्यजन्तुविद् डा. हेमसागर बराललाई ‘त्रिभुवन विश्वविद्यालय, प्राकृतिक विज्ञान संग्रहालय हेम-गंगा पन्छी अनुसन्धान तथा संरक्षण सम्मान’ प्रदान गरिएको छ। वरिष्ठ चित्रकार, चराविद् तथा कवि हेम पौड्यालको दोस्रो स्मृति दिवसको अवसरमा आइतबार बराललाई सम्मान गरिएको हो।

त्रिभुवन विश्वविद्यालय, प्राकृतिक विज्ञान संग्रहालयको आयोजना र कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको सहआयोजनामा स्वयम्भूमा कार्यक्रम गरिएको थियो।

संग्रहालयका प्रमुख डा. ईशान गौतमको सभापतित्वमा भएको कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कलाकार के.के. कर्माचार्य (प्रमुख अतिथि), त्रि.वि. विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा. शंकरप्रसाद खनाल, वरिष्ठ साहित्यकार प्रा.डा. रामप्रसाद ज्ञवालीलगायतको उपस्थिति थियो।

कार्यक्रममा स्व. हेम पौड्यालकी पत्नी वरिष्ठ साहित्यकार गंगा कर्माचार्य पौड्यालले पौड्यालद्वारा सिर्जित २० वटा चराका तैलीय चित्रहरू संग्रहालयका प्रमुख गौतमलाई हस्तान्तरण गरिएको थियो। साथै संग्रहालयले पौड्याललाई कदरपत्र प्रदान गरेको थियो।

पुरस्कार र संरक्षण कार्यलाई निरन्तरता दिन पौड्याल परिवारको तर्फबाट गंगा कर्माचार्य पौड्यालले संग्रहालयमा ५ लाख रुपैयाँको अक्षयकोष समेत स्थापना गरेकी छन्।

उपप्राध्यापक बिमला शाक्यको सञ्चालनमा भएको कार्यक्रममा वक्ताहरूले स्व. पौड्यालको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए।

कपन बानेश्वर साप्ताहिकका सम्पादक निबन्ध आचार्यले स्वागत मन्तव्य दिएको सो समारोहमा अनिता ढकाल र रेणुका भट्टराईले कवि पौड्यालका कविताहरू वाचन गरेका थिए।

प्रकाशित: १८ माघ २०८२ १८:३५ | Sunday, February 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast